टेक नारायण कुँवर
“शिष्टतापूर्वक सुन, बुद्धिमत्तापूर्वक जवाफ देउ, संयमतापूर्वक ग्रहण गर र निष्पक्षतापूर्वक निर्णय गर” –शुकरात
एउटा न्यायाधीशको लागि दार्शनिक शुकारतका यी चार सूत्रहरु मननीय छन्। न्यायपालिका न्यायको मन्दिर हो। यस संस्थामा काम गर्ने न्यायाधीश देखि कर्मचारीसम्म पवित्र र जनसेवा गर्ने भावनाले ओतप्रोत भएको हुनुपर्दछ। हाम्रो न्याय प्रणालीमा आज नयाँ नयाँ चुनौतीहरु थपिएका छन्। हेरक दिन नयाँ आयामहरु, नयाँ संकेतहरु र नयाँ सोचहरु तिव्र रुपमा अघि बढिरहेका छन्। विश्वको परिवर्तित परिस्थितिसँग मेल खाने गरी काम गर्न न्यायाधीशहरुले पुरानै व्यवहार, वानी र प्रणालीबाट अब सफल हुन सक्नेछन् भनी सोच्न पनि सकिँदैन। विगतमा भन्दा आज न्यायपालिका बढी भन्दा बढी जनताको विश्वासको केन्द्र बन्न सक्नु पर्दछ। एकतावद्ध परम्परा, उच्च क्षमता, सक्षम निष्ठा र भ्रमरहित स्वतन्त्रताको संयोजनबाट नै यो संस्था सफल हुन सक्तछ। ती सबै कुराको निम्ति न्यायालयले योगदान दिन सक्तछ। नागरिकहरुले न्यायपालिकाको निर्णयप्रति आदरभाव देखाउनु आवश्यक छ। सामाजिक न्याय र सामाजिक परिवर्तनको लागि न्यायपालिका सक्षम र सुदृढ हुनै पर्दछ। अतः गहन जिम्मेवारी बोकेको यस संस्थामा कार्यरत न्यायाधीशहरुले आफ्नो इजलासमा कसरी प्रस्तुत हुनुपर्दछ भन्ने कुराले ठूलो महत्व राख्दछ। त्यस्तै महत्व न्यायपालिकाका कर्मचारी, मुद्दाका पक्षहरु र कानुन व्यवसायीले ईजलासमा देखाउनु पर्ने शिष्टताको रहेको हुन्छ।
न्यायको निम्ति दुईवटा पक्षहरु (Parties of the case) अदालतमा आईरहेका हुन्छन्। मुद्दाको सुनुवाईको क्रममा न्यायमूर्तिले देखाउने व्यवहारलाई उनीहरुले बहुतै गम्भीर तरिकाले मूल्याङ्कन गरिरहेका हुन्छन्। न्यायाधीशले ईजलासमा रहंदा बोल्ने, हेर्ने र स्रोताहरु प्रति देखाउने व्यवहार अध्ययन गरेर सामान्य जनताले न्यायपालिका प्रति आफ्नो धारणा निर्माण गर्दछन्। तसर्थ न्यायाधीशले इजलासमा धेरै कुराहरुमा विचार गर्न आवश्यक हुन्छ। ती मुख्य मुख्य विषयहरु निम्न प्रकार छन्:- (१) व्यक्तित्व, (२) समय पालना, (३) निष्ठा र नैतिकता, (४) अरु प्रतिको व्यवहार, (५) निष्पक्षता, (६) पोशाक, (७) प्रश्न गर्ने र सुन्ने तरिका, (८) शिष्टता, (९) कर्मचारी प्रतिको व्यवहार, (१०) चुस्तता र दुरुस्तता, (११) नेतृत्व शैली र नियन्त्रण क्षमता, (१२) नम्रता, (१३) ज्ञान, सिप रक्षमता, (१४) आदेश र फैसला लेखन कला आदि। अतः एउटा संस्थाको रुपमा अदालतको काम सम्पादन गर्न न्यायाधीश, वारको सदस्य, कर्मचारीहरु र मुद्दाका पक्षहरुको सक्रिय भूमिका रहेको हुन्छ। यी सबै व्यक्तिहरुको संयोजनकारी र सकारात्मक भूमिका भएमा नै स्वतन्त्र न्यायपालिकाको छवी बचाउन सकिन्छ।
व्यक्तित्वः– धेरै मानिसहरुको सोचाई के रहेको हुन्छ भने न्यायाधीश शारीरिक रुपमा समेत भव्य व्यक्तित्वको धनी हुनुपर्दछ। तर यो पूर्णतः गलत विचारधारा हो। निश्चयपनि एउटा के कुरा सत्य हो भने न्यायाधीशको व्यक्तित्वलाई उसको लवाई, सरसफाई र वेञ्चमा हुने उसको शालीन एवम भद्रतापूर्ण उपस्थितिले प्रथम दृष्टिमा नै राम्रो या नराम्रो भन्ने प्रभाव पारिसकेको हुन्छ। त्यसैले भनिन्छ “Judge should be neat and presentable and he should not be slovenly dressed.”
समय पालनाः– समय पालना न्यायाधीशको महत्वपूर्ण अनुशासन भित्र पर्दछ। कुनै अपरिहार्य कारण बिना ईजलासमा ढिलो बस्नु न्यायाधीशको लागि शोभनीय हुँदैन। प्रायसः हाम्रो प्रचलनमा अड्डा खुल्नासथ इजलासमा बस्ने रहेको छैन। भनिन्छ कि “Not adhering to court timing is a serious aberration. It must be avoided at all cost by all of us.”
निष्ठा र नैतिकताः– समाजमा रहेका सबै व्यक्तिहरुमध्ये न्यायाधीशलाई निष्ठा र नैतिकताको आधारमा समाजले सम्मान प्रदान गरेको हुन्छ। न्यायाधीश आफ्नो कर्तव्यबाट विचलित हुनु हुँदैन। नैतिक चरित्रले ओतप्रोत हुनु पर्दछ। अरुप्रति देखाईने व्यवहार सभ्य र शिष्ट हुनु पर्दछ। कानूनी रुपमा न्यायाधीशको आचार संहिताले यस प्रकारका निष्ठा र नैतिकता सम्बन्धी मापदण्डहरु तोकिदिएको हुन्छ। तापनि यी गुणहरु भनेको न्यायाधीशको पदसँग स्वतः गाँसिएर आउने हुँदा न्यायाधीशको निष्ठा र नैतिकताको पाठ कानूनी रुपमा सिकाईरहनु पर्ने विषय नै होईन। यदि गलत मनसाय लिएर न्यायाधीशले काम गर्यो भने उसले सम्पूर्ण समाजको आस्था गुमाउन पुग्दछ। त्यसैले भनिन्छ “Such an officer who does not maintain highest standards of integrity, has no right to continue to occupy the chair as a judicial officer.” त्यसर्थ, निष्ठा र नैतिकताको दृष्टिले एउटा भ्रष्ट न्यायाधीशको लागि देवराज बस्ने पवित्र कुर्सीमा दावी गर्ने कुनै अधिकार रहन सक्तैन।
स्वतन्त्रताः– न्यायाधीशले भय, डर, त्रास, धाक, धम्की, मोह, लोभ, बदला, शत्रुत्व, मित्रता र कुनै आग्रह वा पूर्वाग्रह देखि पर रहेर आफ्नो कार्य संपादन गर्नुपर्ने हुन्छ। न्यायाधीशले निष्पक्षतापूर्वक काम गर्दा गर्दै पनि कहलिेकाहीं कुनै निहित स्वार्थबाट प्रेरित भएर आक्षेपहरु लगाईन सक्तछ। यदि न्यायका मूल्य मान्यता भित्र रहेर काम गरेको छ भने उसले विचलित हुनुपर्ने कुनै कारण रहँदैन। मिथ्या आरोपहरु स्वतः धुमिल भएर जान्छन्। न्यायाधीश जहिले पनि कडा मेहनती, इमान्दार र मुद्दाका पक्षहरु, साक्षीहरु तथा वारका सदस्यहरु प्रति सकारात्मक एवम शिष्ट हुनुको साथै नेतृत्व क्षमता देखाउने गरी प्रस्तुत हुनु पर्दछ।
पोशाकः– न्यायाधीशहरुको पोशाक संसारमा एकै प्रकारको पाईँदैन। अधिकांश मुलुकहरुमा मुख्यतः कालो गाउन (Black Robe) लगाउने प्रचलन रहेको छ। तर गाउनमा पनि एकरुपता नरही देशै पिच्छे गाउनको रंग र त्यसमा प्रयोग हुने चिन्हहरु पृथक पृथक प्रकारको पाइन्छ। नेपालमा पनि न्यायपालिकाको स्थापनाको शुरुआती दिनहरुमा गाउन लगाउने प्रचलन रहेको थियो। पछि आएर यो प्रचलन हटाईयो। सामान्य मानिसहरुको पोशाक भन्दा न्यायाधीशको पोशाक फरक राखिनुको अर्थ उसले संपादन गर्ने काम प्रति जनताको सम्मानित दृष्टिकोण जगाउनको निम्ति पनि हो।
नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट र कालो टोपी हो। ईजलासमा बस्दा लगाउने पोशाक व्यक्तिको रुची र इच्छा मुताविक चल्दैन। तसर्थ न्यायाधीशहरुले राष्ट्रिय पोशाक लगाउँदै आएका छन्। विभिन्न तहका अदालतको नियमावलीले नै इजलासमा बस्ने पोशाक निर्धारण गरेको छ। विश्वको प्रचलनलाई हेर्ने हो भने कालो रंगको गाउन नै बढी चल्तीमा रहेको छ। हुन त गाउनको सम्बन्धमा पनि भारतमा न्यायाधीशहरु सन्तुष्ट छैनन्। अंग्रेज प्रचलनलाई निरन्तरता दिएको भनेर यदाकदा आलोचना हुने गर्दछ। तर न्यायाधीश जस्तो पदमा रहेका उच्च मर्यादामा रहनुपर्ने व्यवसायिक व्यक्तिहरु साधारण नागरिक भन्दा फरक पोशाकमा उपस्थित हुनुपर्दछ भन्ने मान्यता रहेको पाइन्छ। जब यसप्रकारको पृथक पोशाकमा एउटा व्यक्ति न्यायाधीशको रुपमा इजलासमा भव्यतापुर्वक उपस्थित हुन्छ, उसको मनमा म स्वच्छ, निष्पक्ष, स्वतन्त्र र सही न्याय गर्न खाटिएको व्यक्ति हुँ भन्ने भावना जाग्दछ, जाग्नुपर्दछ भन्ने अनुमान गरिन्छ। जनताको नजरमा पनि त्यही विश्वास रहेको हुन्छ। नेपालमा पनि परिवर्तित सन्दर्भमा कालो गाउन (Black Robe) लगाउने प्रचलन शुरु गरेमा हामीहरु पनि विश्वको गतिसंगै अघि बढ्न सक्तछौं।
इजलासशमा बस्ने न्यायमूर्ति मात्र होईन, सहायकहरु पनि चुस्त रहनु पर्दछ। भनिन्छ कि “They must equally be smart and trim.” अदालतका कर्मचारीहरुको पनि औपचारिकता झल्किने पोशाक हुनु पर्दछ। टिसर्ट, स्पोर्टस सु, चप्पल, रंगी विरंगी लुगामा अफिस जानु शोभनीय हुँदैन। कर्मचारीले औपचारिक पोशाक र सरसफाइमा विशेष ध्यान दिने प्रचलन विभिन्न मुलुकहरुमा पाइन्छ। फिलिपिन्समा त स्प्रे तथा मेक अप किट्स साथैमा बोक्ने र आवश्यक ठानेको बेलामा उपयुक्त स्थानमा गएर तत्काल प्रयोग गर्ने प्रचलन छ। भनिन्छ कि “If a member of the court staff comes to court casually dressed as if going to a cinema hall, how will he carry respect in the eyes of the public?”
इजलासको व्यवहारः– न्यायाधीशले इजलासमा बोल्दा उसको उच्चारण प्रष्ट हुनुपर्छ। ज्यादै चर्को वा ज्यादै सुस्त आवाजमा बोल्न हुँदैन। त्यसैले भनिन्छ “When the judge speaks, his accent must be clear. His voice should not be too loud or it should not be too low. It must be clearly audible to those who are presented.” असम्बद्ध र अनावश्यक गन्थनहरु इजलास (न्यायाधीश) ले कदापी गर्न हुँदैन। यसले अरुलाई मात्र लज्जित बनाउँदैन, स्वयं न्यायकर्तालाई पनि शोभा दिँदैन। बहसको क्रममा मुद्दाको विषयवस्तु भन्दा बाहिर गएर प्रश्न सोध्नु हुँदैन। कहिलेकाही न्यायाधीशले कानून व्यवसायीसँग गर्ने प्रश्नको आधारमा थाहै नपाई मुद्दाको निर्णय बोलिएको हुन सक्तछ। त्यस्तो भेउ पाउने चलाख कानून व्यवसायीले मुद्धा हार्ने भयले लम्ब्याउन अनावश्यक आदेशका लागि जिद्दी गर्ने पनि हुन्छन्। यसबाट न्याय छिटो छरितो गर्नुपर्ने कुरामा अवरोध आउन सक्तछ।
भनिन्छ कि “Judge must learn to hear the counsel first.” अर्थात् प्रथमतः पक्षको कानून व्यवसायीको कुरा सुन्नु पर्दछ। यद्यपी पक्षको कानूनी सल्लाहकारले भनेका सबै कुराहरु कानून र न्यायको दृष्टिमा सहि नै हुन्छन् भन्ने होईन। वहस कलाको प्रयोग गर्ने क्षमता भएका कानून व्यवसायीले प्रभावकारी रुपमा वेञ्चलाई रोमाञ्चित पार्दै न्यायाधीशको विश्वास जित्ने कोशिस अवश्य गर्दछन्। तर न्यायाधीशले आफ्नो दिमागमा प्रश्तोता गल्तिमा पनि हुन सक्छ भन्ने कुरा राखिरहनु पर्दछ। तसर्थ वेञ्चको गरिमा वृद्धि गर्न खुला दिमाग, अरुप्रति सम्मान भाव र शालीनता प्रस्तुत गर्दै न्यायकर्मीले अर्काको कुरा सुन्नु पर्दछ। तर त्यस्तो सुनुवाईका पनि आफ्नै पद्धतीहरु छन्। समय व्यवस्थापन, विषय वस्तुको सम्बोधन, शिष्टता र प्रष्टता निश्चय पनि अपेक्षित हुन्छ, हुनुपर्दछ।
भनिन्छ “Judge need not exhibit any hastiness in the matter”. तसर्थ पक्षको तर्फबाट मुद्दाको तथ्य र कानूनको प्रयोग सम्बन्धमा प्रस्तुती गरिरहेको बेलामा विचैमा हस्तक्षेप हुने तवरमा प्रश्न गर्न उचित मानिदैन।तर यो कुरा तबतक लागु हुन्छ, जबसम्म प्रस्तोता विषयान्तर तर्फ लागेको हुँदैन।त्यसमा पनि उपयुक्त बेला विचार गरेर रोक्ने कोशिस गर्नु पर्दछ। न्यायाधीशले कानून व्यवसायीसँग खुला इजलासमा वाद प्रतिवाद गर्नु, वारको असम्बन्धित प्रसंग कोट्याउनु आदि न्यायिक मापदण्ड भन्दा तलको कुरा मानिन्छ। कहिले काहीँ कानून व्यवसायीले भन्दा इजलासमा बसेको न्यायाधीशले बढी वहसमा भाग लिएको भन्ने आलोचना सुन्नमा आउँछ। “धेरै सुन, थोरै बोल”भन्ने सिद्धान्त न्यायाधीशले पालना गर्नु पर्दछ। धेरै बोल्दा निर्णयमा असर पर्न सक्छ। अनावश्यक शंकाहरु जन्मिन्छन्। सम्बद्ध र स्पष्ट नभएको तथ्यगत कुरा एवं कानूनी प्रश्नमा मात्र केन्द्रित रही जिज्ञासा राख्नु पर्दछ।यदि न्यायाधीश आफैंमा द्विविधाग्रस्त अवस्थामा रहेको छ भने प्रश्न उठाउनु भन्दा सुन्नुमा नै ध्यान केन्द्रित गर्नु उत्तम हुन्छ।त्यस्तो अवस्थामा बोल्नु भनेको आफ्नो अनभिज्ञता र असक्षमता प्रकट गर्नु हो। पक्षको तर्फबाट इजलासलाई के दिईन खोजिदैछ, त्यसलाई भरपुर लिने कोशिस गर्नुपर्दछ र त्यसलाई विश्लेषण गरी तथ्य र कानूनमा कसरी सामाञ्जस्यता हुन सक्तछ? वहस, तथ्य र कानूनलाई मथेर न्यायरुपी मखन झिक्ने कोशिस गर्नु नै वास्तविक न्यायवादिता (Judgeship) हो।
अर्को कुरा खुला इजलासमा निर्णय सुनाउनु भन्दा अघि नै कुनै मुद्दामा यस्तो हुन सक्छ भनेर कहिल्यै कहीं पनि भन्नु हुँदैन।यदि निर्णय सुनाउने दिन तोकिएको छ भने इजलास सहायकले पनि त्यसलाई न्यायाधीशबाट खुल्ला इलासमा वाचन नगर्दासम्म गोप्य राख्नु पर्दछ। निस्कर्ष वा निर्णयको संभावित संकेत हुने गरी बोलिदिनु भनेको न्यायाधीशको सबैभन्दा ठूलो कमजोरी हो। अझै कतिसम्म भने इजलास अधिकृतलाई पनि निर्णय सुनाउनु अघिसम्म मुद्दामा यस्तै निर्णय हुन्छ भनेर न्यायाधीशले संकेत गर्नु हुँदैन।
बारप्रतिको शिष्टताः– वेञ्चमा आउने कानुन व्यवसायी अर्थात वारका सदस्य प्रति न्यायकर्मीले दर्शाउने व्यवहार शिष्ट हुनु पर्छ भन्नेमा दुई मत छैन। यदाकदा वारको सदस्यले वेञ्च प्रति नकारात्मक प्रस्तुती गरेको पाईन्छन्। त्यतिखेर पनि न्यायाधीशले आफ्नो संयमता गुमाउन हुँदैन। वेञ्चमा लज्जास्पद व्यवहार कसैले गरिहालेमा पनि वेञ्चले त्यसलाई बढाउनुको सट्टा नजर अंदाज (Ignore) गरिदिनु उत्तम हुन्छ।तर निरन्तर रुपमा (Persistently) वेञ्च प्रति प्रहार गर्न छाडेन भने त्यस अवस्थालाई भने न्यायाधीशले नियन्त्रणमा लिनै पर्दछ। अन्यथा न्याय प्रणलीप्रतिको सौन्दर्यता (Decorum) नै नष्ट हुन जान्छ। तर यस सम्बन्धमा परिस्थिति अनुसार सन्तुलनको सिद्धान्त न्यायमूर्ति आफैले लागु गर्नु बाहेक कुनै निश्चित नियम भने छैन।
आफ्नै कर्मचारीप्रतिः–न्यायाधीशले आफ्नो सहयोगी कर्मचारी प्रति पनि सम्मानित र असल व्यवहार गर्नु पर्दछ। उनीहरु स्वंय न्यायाधीशका अभिन्न अंगको रुपमा रहेको हुन्छन्। कहिलेकाही उनीहरुबाट गल्ती हुन सक्दछ, जुन अस्वाभविक होईन। कर्मचारीको गल्ती खुला ईजलासमा अरुको अगाडि औंल्याउनु हुँदैन। उनीहरुको मान मर्दन हुने गरी व्यवहार गर्नु उचित होईन।
बारको अदालत प्रतिः– कानून व्यावसायीको अभावमा न्यायपालिकाले सक्षमतापूर्वक कार्य सम्पादन गर्न सक्तैन। वेञ्चप्रति बारको सदस्यले सदैव शिष्टता प्रर्दशन गर्नु पर्दछ। बहसमा उपस्थित हुने कानून व्यावयायीलाई विद्वान शव्दले पुकारिन्छ। विद्वान सदैव विनयी हुनुपर्दछ। फिलिपिन्स, थाईल्याण्ड, जापान, अमेरिका, वेलायत, हङकङ, र अष्ट्रेलिया जस्ता विकासोन्मुख तथा विकसित धेरै मुलुकमा न्यायाधीश इजलासमा प्रवेश गर्दा इजलासमा उपस्थित मानिसहरुले विनम्रतापूर्वक उठेर शिष्टता देखाउने प्रचलन रहेको छ। न्यायाधीश बेञ्चमा बसी सकेपछि इजलास (Courtroom) मा प्रवेश गर्ने प्रत्येक व्यक्तिले ढोकैबाट आधा शिर झुकाउदछन्। शिष्टतापूर्वक खाली रहेको स्थानमा बस्ने प्रचलन रहेको छ त्यहां। बेञ्च सेसन चलिरहदा खासखुश, गांईगुर्इं र कुराकानी गर्न पाईदैन। मोवाईल, पत्रपत्रिका, खानेकुरा, पेय पदार्थ आदिको प्रयोग बर्जित छ। तर हामीकहॉ वेञ्चमै पान, सुपारी चपाउने प्रचलन पनि कही कही देखिन्छ। टाउकोमा कालो गगल्स र ह्याट लगाएर वेञ्चमा आएको पनि भेटिन्छ। त्यस्ता अशोभनीय दृश्यहरुतर्फ बेञ्चाबाट आपत्ती प्रकट गरिनु पर्दछ। अमेरिकामा त इजलास प्रवेश गर्नु पूर्व हरेक व्यक्तिले बडी स्प्रेप्रयोग गर्नु पर्ने नियम नै छ।
अदालतका कर्मचारीः– वातावरण, साधन, श्रोत, परम्परा, संस्कृती र सुविधामा रहेका कमी कमजोरीले गर्दा अदालत भन्ने सुन्दा अझै पनि मानिसहरुको दिमागमा फाईलको पोका, टुटे फुटेका कुर्सी टेवुल, अव्यवस्थित मानिसहरुको झुन्ड, अस्तव्यस्त वातावरण, हल्ला खल्ला, चुरोट, चिया, पान र सुर्तिका गन्धहरु आदि चित्रहरु मानस पटलमा एक पछि अर्को पल्टिन थाल्दछन्। जोश, जॉगर, उत्साह र आत्म सम्मान एवं चुस्त दुरुस्त भन्ने चिज न त कर्मचारीहरुको अनुहारमा पढ्न पाईन्छ न त सेवाग्राहीमा नै। यी चिजहरु अदालतको काममा संलग्न मानिसहरुको पहुँच भित्र अझै आई सकेका छैनन्। कतिपय कुराहरु त आधुनिक सोच र जॉगरको कमिका प्रतिफल हुन्। त्यसकारण न्याय प्रशासनमा संलग्न व्यक्तिहरुले नैतिक रुपमा आत्मवलयुक्त, चुस्त र दुरुस्त सेवाको अनुभुति जनतालाई गराउन अथक प्रयत्न गर्नु आवश्यक छ।सेवाग्राही प्रति आफु शासक भएर होईन, सेवा लिन पाउने नागरिकको अधिकारलाई सम्मान गर्ने कर्तव्य ठानेर प्रभावकारी रुपमा सेवा प्रवाह गरिनु पर्दछ। सेवाग्राहीहरुलाई मागेको सूचना शिष्टतापूर्वक दिनुपर्दछ। उनीहरु सेवा लिने आफ्नो अधिकारको माध्यमबाट आएका हुन्। कसैको दया खोज्न होईन। जनताले तिरेको राज्यको करबाट सुविधा पाएर हामीहरु काम गर्न खटिएका हौं। अन्तिम सत्य यही नै हो। दक्ष जन सेवा सहितको न्याय प्रशासनमा अदालतको मुख्य न्यायाधीश र प्रमुख प्रशासकको बिशेष भुमिका र जिम्मेवारीपूर्ण हुनुपर्दछ।
न्यायाधीशको अनुभवः– एक जना अमेरिकी न्यायाधीश Bernard Boland ले २० वर्षको आफ्नो न्यायाधीशको अनुभव व्यक्त गर्दै “A Judge’s Soliloquy on Judging” भनेर निम्न १० वटा अनुभव व्यक्त गरेका छन्ः–
१) न्यायाधीश समक्ष आउने प्रत्येक मुद्दा न्यायाधीशको आफ्नै मुद्दा होईन। तसर्थ मुद्दामा व्यक्तिगत पुर्वाग्रह पलाउनु आवश्यक छैन। यसलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र भएर आफ्नो क्षमता देखाउने अवसरको रुपमा लिनु पर्दछ।
2) नियम (Rule, Rule, Rule):- फैसला लेख्दा जतिसुकै उद्धरण पेश गरेतापनि, जतिसुकै भावनाका कुराहरु व्यक्त गरेतापनि पक्षहरुले कानून र नियममा आधारित कारणहरु जान्न खोज्दछन्। तसर्थ मुद्दामा तथ्यको आलोचना र वर्णन होईन, के कारणबाट मुद्दाको हार जित भयो भन्ने कुरामा पक्षहरुको ध्यान जान्छ भन्ने कुरालाई ख्याल गरिनु पर्दछ।
३) कारण सहितको फैसलाः– यसरी पक्षहरुको ध्यान हार जीतको कारणमा केन्द्रित रहने हुँदा भनिन्छ कि “The parties have a right to know why you decided the case the way you did”.
४) कानून व्यवसायी सँग प्रतिस्पर्धा नगरः– न्यायाधीशले Black Robe लगाएको हुन्छ र उ अरुभन्दा पृथक ठानिन्छ। उ निर्णयकर्ता हो, कसैको प्रतिस्पर्धी होईन। उसले निष्पक्ष एम्पायरको भुमिका खेल्नु पर्दछ। वहसमा उपस्थित कानून व्यवसायीमा भन्दा बढी क्षमता प्रदर्शन गर्ने लालच वेञ्चले देखाउनु गलत हो। फैसला लेखनबाट नै उसको क्षमता प्रकट हुन सक्तछ।
५) कानून, न्याय र निष्पक्षतालाई अंगालः– न्यायाधीश मुद्दाको विषयवस्तुमा मात्र केन्द्रित रहनु पर्दछ। कानून, न्याय र निष्पक्षता उसका औजार हुनुपर्दछ। वेञ्चमा बसेको न्यायाधीशले आफ्नो मन पर्ने, मन नपर्ने, राजनीतिक र आफ्ना नीजि प्राथमिकताका कुराहरु कहिल्यै व्यक्त गर्नु हुँदैन।
६) तिमी आफै पनि वकिल हुँ भन्ने कहिल्यै नविर्स तर आफूलाई वकिल कहिल्यै नसम्झः– कानून व्यवसायी र न्यायाधीश एउटै शिक्षा, अनुभवबाट आएका एवं साथित्व र परिचय भित्रका व्यक्ति हुन सक्तछन्। काम कर्तव्यको हिसावबाट पेशागत पृथकता रहेको हो। तसर्थ मुद्दामा निर्णय गर्दा कानूनको विद्यार्थी भएपनि निर्णयकर्ता आफै कुनै पक्षको कानून व्यवसायी हुँ भन्ने भावना पलायो भने निष्पक्षता भन्ने गुण नष्ट हुन जान्छ।
७) कानून व्यवसायीहरु कठिन पेशाका व्यक्तिहरु हुन्। एकै समयमा उसको अर्को इजलासमा मुद्दा सुनुवाई भई रहेको हुन्छ। तर न्यायाधीशले कुनै पनि वकिलको निम्ति विशेष व्यवहार होईन, समान, व्यवहारिक र सन्तुलनकारी व्यवहार गर्न तथा समय व्यवस्थापन गर्न डराउनु हुँदैन।
८) न्यायाधीशले कानून व्यवसायीसँग आर्थिक कारोवार गर्नु हुँदैन र उसको अनुग्रहमा पर्नु हुंदैन।त्यसैले भनिन्छ “Never reach into a lawyer’s pocket.”
९) न्यायाधीशको पेशा लोकप्रियता कमाउने प्रतियोगिता जस्तो होईन। आफ्नो काम गर्दा धन्यवाद बटुल्ने आशा राख्नु हुँदैन। आलोचना सुन्ने हिम्मत पनि राख्नु पर्दछ।
१०) तिमी जे गर्न सक्दैनौ त्यो कुरा अरुको निम्ति गर्नै पर्ने हुन सक्दछ। त्यसैले यो पेशा चुनौतीपूर्ण छ। आफ्नो वा आफ्नै परिवार भित्रका व्यक्तिको मुद्दा पर्न सक्छ। त्यस्तोमा न्यायाधीश पदको प्रभाव प्रयोग गर्नु पदीय दुरुपयोग हो।
अमेरिकी अदालतहरुमा Courtroom Conduct तोकिएको पाईन्छ। सामान्यतया त्यस्तो आचारणहरु निम्न बमोजिम रहेको पाईन्छः–
१) ईजलासको वातावरण अनुशासित, शान्त र मर्यादित हुनुपर्दछ। ईजलासमा प्रवेश गर्ने प्रत्येक व्यक्तिले त्यस्तो आचरण पालना गर्नु पर्दछ।
२) श्रोताहरु, अदालतका कर्मचारीहरु र वेञ्चको कार्यमा संलग्न व्यक्तिहरु तथा अदालतका प्रयोगकर्ताहरुले ईजलासमा तोकिएको स्थानमा वस्नु पर्दछ। अव्यवस्थित झुण्ड बनाएर कोर्ट रुम भित्र उभिनु हुँदैन।
३) कानून व्यवसायीहरु अदालतको नियम बमोजिम समयमा उपस्थित हुनुपर्दछ। वेञ्चमा कसैसँग अनावश्यक कुराकानीमा तल्लीन हुनुहुँदैन।
४) वेञ्च सेसन चलि रहेको बेलामा वकिल लगायत उपस्थित व्यक्तिहरुको ध्यान निर्णयकर्ता प्रति केन्द्रित रहनु पर्दछ। कुराकानी गर्ने (Side talk) र सलबलाउने गर्नु हुँदैन।
५) सेसन चलिरहेको बेलामा Bailiffs ले अनुसाशन कायम गराउनु पर्दछ। सुरक्षा सम्बन्धी समस्या आएमा समाधान गर्नु पर्दछ।
६) ६ वर्ष भन्दा मुनिका वालवालिकाहरुलाई ईजलासमा ल्याउनु हुँदैन।
७) अदालतको कामसँग सम्बन्धित सबै व्यक्तिको पोशाक भद्र खालको हुनुपर्दछ। उछृंखल खालको लुगा लगाएको व्यक्ति कोर्ट रुममा प्रवेश गर्नु हुँदैन। व्यक्तिको पहिरनबाट अदालतप्रतिको सम्मान र गरिमा झल्कनु पर्दछ।
८) यदि पुलिसको उपस्थिति भएको छ भने उसले पनि आफ्नो तोकिएको पोशाकमा मात्र कोर्ट रुम भित्र प्रवेश पाउने छ।
९) कानून व्यवसायीले कोर्ट र टाई सहित औपचारिक पोशाकमा इजलासमा उपस्थित हुनु अनिवार्य छ।
१०) ईजलासभित्र खानेकुरा, पेय पदार्थ, पत्रपत्रिका, रेडियो, मोबाइल र धुम्रपान वर्जित छ।
११) पिउने शुद्ध पानीको सन्दर्भमा भने गिलासमा राखेर पिउने अनुमति दिईएको छ।
१२) बहसको क्रममा उठाइने बुंदा विपक्षी Council तिर फर्केर होइन कि वेञ्चतिर लक्षित गरी बहस प्रश्तुत गर्नु पर्दछ।
१३) इजलास समक्ष कुरा राख्दा उठेर नै राख्नु पर्दछ।
१४) एक पक्षको कानुन व्यवसायीसंग मात्र न्यायाधीशले मुद्धाको सिलसिला उठाउन हुंदैन। कानुन व्यवसायीले पनि विपक्षको अनुपस्थितमा वेञ्चसंग कुरा गर्नु हुंदैन। (Do not participate in inappropriate ex parte communications with the Court on or off the record, Back in chambers, In Courthouse park.)
१५) काननु व्यवसायीको व्यवहार ईजलासप्रति सधैं शिष्ट र सौम्य हुनुपर्दछ। (Lawyers should always act and speak with civility, courtesy, and respect, and should not degrade or disparage the intelligence, ethics, morals, integrity, or personal behavior of the opposing party, counsel, witnesses, jurors, court personnel or judicial officer, unless such matters are specifically at issue in the proceeding.)
र आफ्नै एउटा अनुभवः
म बर्दियाको न्यायाधीश थिएँ। एकदिन विदाको दिनमा बाटोमा हिंड्दै गर्दा एकजना महिला साइकलमा आउँदै थिइन्। मसंगै रहेका एकजना साथीको जानपहिचानको व्यक्ति रहिछन् उनी। उनको जिल्ला अदालत बर्दियामा सम्बन्ध विच्छेद मुद्दा परेको रहेछ। त्यसै मुद्दाको तारिख लिन हिडेको कुरा ती महिलाले मसँग साथमा रहेको व्यक्तिलाई बताइन्। म आफै कार्यरत अड्डामा विदाको दिनमा तारेख तोकिनु, गाउँदेखि ३, ४ घण्टाको बाटो तयगरेर अड्डामा हाजिर हुनु पर्ने वाध्यता उनलाई रहनु र हाम्रा कर्मचारीको लापर्वाही देखेर मेरो मनमा उनीप्रति एक प्रकारको सहानुभूति र कर्मचारी प्रति रिसको भावना उठ्यो। मैले तत्काल ती महिलालाई आज विदा परेको हुँदा भोलिपल्ट मात्र अड्डामा आउन भने। उनी त्यहींबाट फर्किइन्।
भोलिपल्ट अड्डामा पुगेपछि तारेख ताक्ने कर्मचारीलाई वोलाई उनको सो कार्य चरम लापरवाहीपूर्ण रहेको प्रतिक्रिया दिएँ। त्यतिखेर केही कानून व्यावसायी र अरु कर्मचारीहरुपनि अगाडि थिए। ती तारेख तोक्ने कर्मचारी चुपचाप वसेर गल्ति पनि स्वकिार गरे। तर सो दिन देखि उनेको व्यवहार म प्रति नकारात्मक रहेको मैले महसुस गरे। यद्यपि मैले उनलाई संझाउने रुपमा गल्ति औंल्याएको थिएँ। तर उनले आफ्नो मान मर्दन भएको अनुभव गरेछन्। पछि मलाई पनि महसुस भयो कि कुनै कर्मचारीले गल्ति गरेमा अरुको अगाडि सुझाव दिनु वा गुनासो गर्नु प्रत्युत्पादक हुने रहेछ। उसको सकारात्मक सोच त्यस प्रकारले निर्माण गर्न सकिने रहेछ। र, म बर्दिया जिल्ला अदालतबाट विदाई भएर आउँदा कर्मचारीहरुको वीचमा मेरो अनुभूति र त्यसबाट मिलेको शिक्षा पनि व्यक्त गरेर फर्किएँ।
न्यायिक आचरण उल्लंघनका तीन उदाहरणहरुः–
१. अमेरिकाको भर्जिनिया राज्यको एउटा जिल्ला अदालतमा न्यायाधीश James Michael Shllu ले वेञ्चमा देखाएको व्यवहारबाट उनी आफ्नो पदबाट बाहिरिनु परेको उदाहरण पाईन्छ। सन् २००४ मा इजलासमा उपस्थित एक जना घरेलु हिंसा सँग सम्बन्धी मुद्दाका पक्ष रहेकी महिलालाई न्यायाधीशले जुन मानिसले उनलाई हिंसात्मक कार्य गरेको भनी उजुरी परेको थियो उसैसँग विवाह गर्ने सल्लाह दिए। साथै शरीरको कुन अंगमा पिटेको थियो भन्ने चोट हेर्न न्यायाधीशले इजलास मै पाईन्ट फुकाल्न आदेश दिए। अझै त्यो भन्दा बढी उक्त मुद्दामा निर्णय गर्न मुद्दाको मेरिटको आधारमा तथ्य र प्रमाण विश्लेषण गर्नु पर्नेमा कोर्ट रुम भित्रै “Coin tossing” गरेर निर्णय सुनाए। उनको विरुद्धमा उजुरी पर्यो। न्यायिक समितीले जाँच बुझ गर्दा न्यायाधीशको यस्तो हर्कतबाट मुद्दाका पक्षहरुलाई मात्र नकरात्मक प्रभाव पारेन बल्कि कानूनको शासनको खिल्ली उडाईयो। जसबाट जनसमुदायको अदालतप्रतिको सम्मानमा प्रश्न चिन्ह लाग्यो भन्ने निस्कर्षका साथ उनलाई अवकास दिईयो।
२. सन २००८ को अगष्ट महिनामा अमेरिकाको साउथ क्यारोलिनाको एकजना न्यायाधीश George Peter Lamb ले कोकिन मुद्दाका एक अभियुक्तलाई लागु औषध कालाजातिको रोग (Black man’s disease) नै हो भनी जातिय घृणा फैलाउने शब्दहरु प्रयोग गरेको भनी राज्यको सर्वोच्च अदालतले वेञ्चमा काम गर्न प्रतिबन्ध लगाएपछि राजीनामा दिए।
३. सन २००५ को मार्चमा अर्का अमेरिकी न्यायाधीश च्भकतबष्लय लाई एउट घरेलु हिंसा सम्बन्धी मुद्धाको सुनुवाईको क्रममा वेञ्चमा खचाखच मानिसहरुको बिचबाट मोबाईलको अवाज आएपछि ती न्यायमुर्तिको सनक चढ्यो। मोबाईल कसको बजेको थियो भन्ने यकिन हुन नसकेपछि वेञ्चमा उपस्थित सबै ४६ जनालाई उनले प्रहरी हिरासतमा पठाउने आदेश गरे। तर न्यायिक आचारको ख्याल नगरी आवेशमा आएर गरेको आदेश “without semblance of lawful basis” and behavior like a “petty tyrant” भन्ने ठहर न्यायिक जांचबुझबाट भयो। अन्ततः उनले पदबाट हट्न बाध्य हुनुपर्यो।
यसप्रकार इजलासको मर्यादा कायम गर्नको लागि बाह्य मुलुकहरुमा न्यायाधीशको आचरण तोकिएको मात्र होईन, वेञ्च नियमनका नियमहरु समेत बनेका छन्। हामी कहाँ पनि न्यायाधीको आचरण तोकिएको छ। तर बेञ्च नियमन सम्बन्धी नियमहरुको औपचारिक घोषणा गरिएको पाईदैन। सो नभएपनि परम्परागत रुपमा इजलास भनेको मर्यादित स्थान हो र त्यहाँ प्रवेश गर्ने प्रत्येक व्यक्तिले ईजलासको मर्यादा देखाउनु पर्दछ भन्ने भावना रहको छ। तर कतिपय अवस्थामा ती आचरणगत नियमहरुको परिपालना हुन सकेको पाईदैन। स्वयं न्यायाधीशले नै इजलास नियमन सम्बन्धी आचरणहरु आफैबाट शुरु गर्नुपर्दछ। साथै न्यायाधीशले न्याय प्रशासनमा संलग्न कर्मचारी र अदालतका प्रयोगकर्ताहरुलाई पनि त्यस तर्फ आकर्षित गराउने भूमिका खेल्नु पर्दछ।