टेक नारायण कुँवर
१. विषय प्रवेशः
करणी सम्बन्धी अपराधलाई प्राचिन कालमा पनि समाज विरुद्धको अपराधको रुपमा लिईन्थ्यो। त्यसबेला करणी हुनको लागि पुरुषले महिलालाई गरेको यौन दुर्व्यवहार अनिवार्य हुन्थ्यो भने आजको समयमा करणीको परिभाषामा व्यापक परिवर्तन भएको छ र फरक ढङ्गले परिभाषित गरिएको छ। प्राचिन कालमा करणी भन्नाले “कुनै महिलालाई अपरिचित पुरुषले उसको स्वीकृती बिना उसको अस्तित्व, अस्मितामा आँच आउने गरी यौन शोषण गर्ने कार्यलाई करणी भनेर बुझिन्थ्यो।” आजको २१ औं शताब्दीमा करणीलाई फराकिलो रुपमा परिभाषित गरिएको छ। जबरजस्ती करणी भन्नाले महिला वा पुरुष, विवाहित वा अविवाहित, कुमारी वा कुमारीत्व गुमेको सबै प्रकारका व्यक्तिमा हुनसक्ने अमानवीय कार्य भनेर बुझिन्छ। जबरजस्तीकरणी हुनको निमित्त जोरजबरजस्ती अनिवार्य रुपमा हुनुपर्दछ भन्ने आवश्यक छैन। कुनै प्रकारको धाक, धम्की, लोभ, लालच, मोहमा फसाएर गरिने यौन दुर्व्यवहारलाई पनि जबरजस्तीकरणी भनेर बुझिन्छ।
करणी सम्बन्धी अपराध अन्तर्गत यौन हिंसाका विभिन्न स्वरुपहरु पर्न आउँछन्। जस्तै जबरजस्ती करणी,हाडनाता करणी, आशय करणी, अप्राकृतिक मैथुन, बाल यौन दुराचार, कार्यस्थलमा हुने यौन दुराचार र पेडोफिलिया सम्बन्धी अपराध। प्रस्तुत अध्ययनको विषय पेडोफिलिया र बाल यौन शोषणको सम्बन्धमा खासगरी नेपालको न्यायिक निर्णय तथा न्यायिक अभ्यास के कस्तो रहेको छ भन्ने कुरामा केन्द्रित रहेको हुँदा मुलतः यसमा पेडोफिलिया र बाल यौन शोषणलाई केन्द्रविन्दुमा राखेर विवेचना गरिएको छ। यस अध्ययनमा बाह्य मुलुकको अभ्यासलाई पनि समेटिएको छ। पेडोफिलियाको सम्बन्धमा जान्नको लागि जबरजस्ती करणीको समग्र व्यवस्था र अप्राकृतिक मैथुन सम्बन्धी अवधारणा समेत बुझ्नुपर्ने हुन्छ। यस सम्बन्धमा रहेको अन्तर्राष्ट्रिय न्यायिक अभ्यास र हाम्रो न्यायपालिकाले अपनाएको न्यायिक दृष्टिकोण समेतलाई केन्द्रविन्दुमा राखेर पेडोफिलियाको अवधारणा, कानूनी व्यवस्था, न्यायिक अभ्यास, समस्या र सुझावहरु प्रस्तुत आलेखमा प्रस्तुत गरिएको छ।
२. जबरजस्ती करणीको परिभाषाः
जबरजस्ती करणी सम्बन्धी अपराध महिला तथा बालबालिका विरुद्ध हुने गम्भीर यौन हिंसाजन्य अपराध हो। यसलाई सबै देशको कानूनले आफ्नो सामाजिक आवश्यकता अनुसार परिभाषित गर्ने गरेका छन्। अंग्रेजी कानूनमा बलको प्रयोग, भय, त्रास वा धोका दिई स्वास्नी मानिसको मञ्जुरी बेगर गरिएको करणीलाई जबरजस्ती करणीको रुपमा परिभाषित गरिएको छ। यस अनुसार जबरजस्ती करणीको अपराध कायम हुन योनीमा लिङ्गको प्रवेश आवश्यक मानिन्छ। तर समागम सम्बन्धी कार्य पूर्ण नभएपनि अति शुक्ष्म प्रवेश पनि जबरजस्ती करणीको लागि पर्याप्त हुन्छ।[ 1 ]करणी हुन योनीको बाह्य भागमा लिङ्गको सुक्ष्मतम प्रवेश नै पर्याप्त हुन्छ भनी Simpson’s Forensic Medicine मा उल्लेख छ।[ 2 ] भारतीय अपराध संहिताको दफा ३७५ अनुसार स्वास्नी मानिसको इच्छा विपरीत, मञ्जुरी नलिई, मार्ने वा चोट पुर्याउने भय त्रासमा पारी वा लोग्ने नभएको व्यक्तिले लोग्ने हुँ भन्ने विश्वास दिलाई, मञ्जुरी लिएर वा १६ वर्ष मुनीकीलाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणीको अपराध हुने भनी परिभाषा गरेको पाइन्छ।
हाम्रो मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. मा “कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १६ वर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ” भनी परिभाषा गरिएको छ। साथै “योनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिने छ” भन्ने उल्लेख गरिएको छ।[ 3 ]यसैगरी कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा समेत जबरजस्ती करणी गरेको मानिने छ भनी उक्त महलको दफा ९क मा व्यवस्था गरिएको पाइन्छ।
अप्राकृतिक मैथुन
सामान्यतया अप्राकृतिक मैथुन भन्ने वाक्यांशको अर्थ गर्दा जुन कुरा प्राकृतिक नियमको विपरीत छ भन्ने बुझिन्छ। यौन क्रियाको सम्बन्धमा प्राकृतिक रुपमा स्वीकार्य ठानिएको यौन क्रिया गरिनु सामान्य नियम भएतापनि प्रकृतिले नै अस्वीकृत गरेको कार्य गरिनु असामान्य मानिन्छ। प्रकृति सम्मत संभोगमा पुरुषले स्वास्नी मानिसको स्त्री जनेन्द्रियसँग र स्त्रीले पनि लोग्ने मानिसको पुरुष जनेन्द्रियसँग मात्र सिमित रहनु पर्दछ। सो सिमा भन्दा बाहिर गै गरिने त्यस्तो असामान्य कार्यलाई कानूनले नै निषेध गरेको छ भने त्यसलाई अपराधको रुपमा लिनु पर्दछ। जस्तो की कुनै नाबालकको मुखमा वा गुँदद्वारमा यौन क्रिया गर्नु वा नाबालकको यौनाङ्ग चुस्नु वा नाबालकको यौनाङ्ग मुखमा वा गुँदद्वारमा राख्न लगाउने कार्य प्राकृतिक नियम विपरीतको कार्य हो भन्न सकिन्छ। प्रकृति सम्मत संभोगमा पुरुषले स्वास्नीमानिसको स्त्री जनेन्द्रियसँग र स्त्रीले पनि लोग्नेमानिसको पुरुष जनेन्द्रियसँग मात्र सीमित रहनु पर्दछ। पुरुषले स्त्री चौपायासँग वा स्त्रीले पुरुष जाति चौपायाबाट करणी गराउनु प्रकृतिको नियम विरुद्ध हुन्छ। प्रकृतिको नियम विरुद्ध संभोग गर्नु अप्राकृतिक मैथुन हुन्छ।
अप्राकृतिक मैथुनको सम्बन्धमाहाम्रो मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९ क नं. मा यस प्रकार परिभाषा गरिएको पाइन्छः
“कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप १ वर्षसम्म कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्का समेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिब माफिकको क्षतिपूर्ति समेत भराई दिनुपर्छ।”
२०२० साल भाद्र १ गते अघि लागू रहेको मुलुकी ऐन पशु करणीको १ नं. मा भग भग जोरी दलादल गर्ने र गाँड मार्ने मराउनेलाई बात लाग्छ भन्ने कानूनी व्यवस्था गरी अप्राकृतिक मैथुनलाई स्पष्ट गरेको थियो। सोही महलको १६ नं. मा लिंग छोल्नेलाई सजायको व्यवस्था गरी हस्तमैथुनलाई पनि अप्राकृतिक मैथुनको सीमाभित्र राखेको थियो।अप्राकृतिक मैथुन गर्दा पुरुषको वीर्य स्खलन (Emission) हुनु पर्छ पर्दैन भन्ने यो नं..मा स्पष्ट गरिएको छैन। मोदीले लिंग प्रवेश पर्याप्त छ, नकि वीर्य स्खलन[ 4 ] भनेका छन्।
उपर्युक्त परिभाषा अनुसार अप्राकृतिक मैथुन हुनको लागि पीडित नाबालक हुनु पर्दछ। नाबालक व्यक्ति केटा वा केटी जो सुकै हुन सक्दछ। अप्राकृतिक मैथुन गरेमा सो मैथुन जबरजस्ती करणी नै गरेको ठहर्छ। त्यसैले अप्राकृतिक मैथुन सम्बन्धी अपराधमा जबरजस्ती करणीको महलको ३ नं. ले गरेको सजायका अतिरिक्त थप १ वर्ष सजाय हुने भै जबरजस्ती करणी भन्दा पनि बढी गम्भीरतापूर्वक विधायिकाले अप्राकृतिक मैथुनको अपराधलाई हेरेको पाइन्छ।
यसरी उपर्युक्त कानूनी व्यवस्था अनुसार यो अपराध हुनको लागि पीडित व्यक्ति नाबालक हुनु पर्दछ, सो नाबालकसँग असामान्य मैथुन क्रिया गरिएको हुनु पर्दछ। नाबालक लोग्ने मानिस होस् वा स्वास्नी मानिस होस्, त्यस्तो नाबालकसँग सामान्य प्राकृतिक नियम विपरीत गरिने यौन क्रियालाई अप्राकृतिक मैथुन भनिन्छ।
माथि मुलुकी ऐन जबरजस्ती करणीको महलको दफा ९क मा परिभाषित अप्राकृतिक मैथुनमा के के गर्दा अप्राकृतिक मैथुन हुने हो भन्ने प्रष्टता भने रहेको पाइदैन। जस्तो की प्राकृतिक रुपमा लोग्ने मानिसको लिङ्ग स्वास्नी मानिसको योनीमा प्रवेश गर्ने कृयालाई मैथुन कृया मानिन्छ। यस परिभाषा अनुसार सो देखि बाहेक अन्य जुनसुकै प्रकारले गरिने यौन कृयाहरुलाई अप्राकृतिक मान्नुपर्ने अवस्था छ।
यस दृष्टिकोणबाट हेर्दा अप्राकृतिक मैथुनलाई पाँच भागमा विभाजित गरी हेर्न सकिन्छ।
१) लोग्ने मानिसले लोग्ने मानिससँग प्राकृतिक नियम विपरीत गर्ने लैङ्गिक मैथुन (Sodomy or Homosexuality)[ 5 ]
२) स्वास्नी मानिसले स्वास्नी मानिससँग भग दलादल गर्नु (Tribadism or Lesbanism)[ 6 ]
३) मानिसको मुखमा यौनक्रिया गर्नु (Coitus per os)[ 7 ]
४) अरुको लिङ्ग चुसी आनन्द लिनु
५) हस्त मैथुन गर्नु (Masturbation)[ 8 ]
उपर्युक्त मध्ये लोग्ने मानिसले लोग्ने मानिससँग प्राकृतिक नियम विपरीत गर्ने लैङ्गिक मैथुन (Sodomy or Homosexuality) पेडोफिलियासँग सम्बन्धित छ। तर यो वयस्क पुरुष र नाबालिका बीच पनि हुन सक्दछ। पेडोफिलिया हुनको लागि वयस्क पुरुष र नाबालकको बीचमा अप्राकृतिक मैथुन हुन आवश्यक हुन्छ। यसरी माथिका प्रकरणमा परिभाषित गरिएको अप्राकृतिक मैथुनको परिभाषा अनुसार कसैले कुनै नाबालक उपर प्राकृतिक तरीका भन्दा भिन्न तरीका अपनाई यौन दुर्व्यवहार गर्दछ भने सो कार्य अप्राकृतिक मैथुन हुन जान्छ भन्ने कुरामा दुई मत हुन सक्दैन।
बालबालिका माथि हुने यौन दुर्व्यवहार:
बालबालिकाको विरुद्धमा गरिने यौन दुर्व्यवहार विभिन्न प्रकृतिको हुन्छ। यसलाई मूलतः निम्न ३ स्वरुपमा विभाजन गरी अध्ययन गर्न सकिन्छः
क) बालबालिका माथि हुने यौन शोषण (child sexual molestation): बालबालिकामाथि हुने यौन शोषण यौन अपराधको त्यस्तो स्वरुप हो जसमा कुनै पनि वृद्ध, वयस्क वा उमेर पुगेको व्यक्तिले नाबालकहरुलाई आफ्नो यौनिक आनन्द (sexual stimulation) को लागि प्रयोग गर्दछन्।[ 9 ] यस्तो अपराधमा नाबालकलाई यौन गतिविधिमा संलग्न हुन अनुरोध गर्ने, दवाव दिने (जस्तो कि यौनाङ्ग हेर्ने, बालिकाको स्तन देखाउन लगाउने) आदि कार्यहरु गरिएको हुन्छ। जसबाट सो गर्नेले आफ्नो यौन मनोकांक्षा पूर्ति गरिरहेको हुन्छ। साथै यसमा तत्काल बालबालिका उपर शारीरिक सम्पर्क गर्ने र बाल अश्लिलता सम्बन्धी क्रियाकलापमा संलग्न हुन बाध्य पार्ने समेतको कार्य गरिन्छ। यस्तो कार्य बालबालिकाहरु बस्ने घर, पढ्ने स्कूल र काम गर्ने ठाउँमा गरिएको हुन्छ। बाल विवाहलाई बालबालिका उपर भै रहने यौन दुर्व्यवहारको रुपमा UNICEF ले परिभाषित गरेको छ।[ 10 ]यस्तो अपराधको परिणाम स्वरुप बालबालिकाहरु डिप्रेसनको शिकार हुने, चिन्तित रहने र गम्भीर शारीरिक तथा मानसिक समस्यामा पर्ने हुन्छ। परिवार भित्रैको व्यक्तिबाट त्यस्तो दुर्व्यवहार भएमा परिणाम अझै गम्भीर बन्न पुग्दछ।
ख) बाल वेश्यावृत्ति(child prostitution): यो एउटा बालबालिका उपर गरिने व्यवसायिक यौन शोषण हो। बाल अधिकार महासन्धि अनुसार१८ वर्ष मुनिका बालबालिकालाई उनीहरुको मञ्जुरी वा असहमती जे भएपनि यौन शोषण गरिएमा अपराध हुन जान्छ। धेरैजसो मुलुकहरुले यही उमेरलाई बालबालिका मानेको र केही मुलुकले आफ्नो देशको परिवेश अनुसार बालबालिकाको उमेर निर्धारण गरेका छन्। बाल वेश्यावृत्ति गराउनु आफैमा एउटा अपराध हुँदा हुँदै त्यस्तो अपराध गर्नेहरुले मानव वेचविखन तथा ओसारपसारको कार्य गरी वेश्यावृत्तिमा संलग्न गराएको पाइन्छ। यो बाल यौन अश्लिलता र बाल यौन पर्यटनसँग पनि सम्बन्धित रहेको छ।
ग) बाल अश्लिलता (child pornography):बाल पोर्नोग्राफी पनि एक प्रकारको यौन शोषण र यौन दुराचार हो, जसले गर्दा बालबालिकामा शारीरिक र मानसिक क्षति पुर्याउँछ। बाल पोर्नोग्राफीले यौनक्रियाकलाप रेकर्ड गर्ने हुनाले वर्षौं पछि पनि पीडितलाई क्षति पुराइरहन्छ। बाल पोर्नोग्राफी बालबालिका तथा पेडोफाइल र बाल यौन शोषकहरुको यौन उत्तेजना ल्याउन प्रयोग गरिन्छ।यसमा बालबालिकालाई यौनजन्य कार्यमा आकर्षित गरिन्छ। बालबालिकाको नग्न तस्वीरहरु लिने, देखाउने र यौन कार्यमा सहभागी गराउने कार्य यसमा हुन्छ। साथै अश्लिल चलचित्र बनाएर यौन उत्तेजना बढाउने कार्य पनि यसमा हुन्छ। बाल अश्लिलतामा अश्लिल लेख, तस्वीर, मूर्ति, चित्र, कार्टुन, पेन्टिङ्ग, श्रव्यदृष्य, चलचित्र, भिडियो र गेमहरुको प्रयोग गरिन्छ।
३. पेडोफिलियाको अवधारणा र परिभाषाः
अवधारणाः
पेडोफाइल शब्दको विकास ग्रीक भाषाबाट भएको हो। पेडोफिलियाको शाब्दिक अर्थ “पेडोस्” जसको मतलब “बालबालिका” हो भने “फिलिया” भनेको “माया र मित्रता” हो। तसर्थ पेडोफिलियाको शाब्दिक अर्थ भनेको बालबालिकालाई गरिने माया र मित्रता नै हो। अलि फराकिलो रुपमा यसलाई परिभाषित गर्नुपर्दा माया र मित्रताको प्रयोग गरेर बालकहरुलाई यौन दुराचार गर्नुलाई पेडोफिलिया भनिन्छ। पेडोफिलियाको यकिन कारण आजसम्म पनि ठम्याउन सकिएको छैन। अध्ययन र अनुसन्धानले के दर्शाउँछ भने यसको कारणमा Biological, Psychological र Social factor को हात हुने गरेको छ।
पेडोफाइल शब्द जर्मन नागरिक Richard Von Krafft- Ebing ले पहिलो पटक प्रयोग गरेका हुन्। उनी एक मनोरोग विशेषज्ञ हुन्। पेडोफिलियाको अवधारणा १९ औं शताब्दीबाट विश्वव्यापी भयो। सन् १९८० देखि यो विषयमा अध्ययनहरु गर्न सुरुवात गरियो। तसर्थ यसको इतिहास छोटो छ। सामान्य बोलिचालीमा pedophile भन्नाले “dirty old man”भन्ने बुझिन्छ। यसमा वयस्क व्यक्तिले नाबालक माथि धोका दिई, झुक्याई, लोभलालचमा पारी वा बल प्रयोग गरी यौन शोषण गर्दछ। अध्ययनहरुले के बताएको छ भने pedophile बाट पीडित नाबालकहरु गम्भीर रुपमा शारीरिक पीडा व्यहोर्नु पर्ने, डराउने, तर्सिने, एकोहोरिने र उनीहरुमा लामो समयसम्म मनोवैज्ञानिक असरहरु रहने गर्दछ। साथै यसमा pedophile ले नगन्य मात्रामा यौन सम्पर्क भएपनि मूलतः चुम्बन गर्ने, सुमसुम्याउने र कथित मायालुभाव देखाउने गर्दछन्। यसरी pedophilia भन्नाले सामाजिक रुपमा अस्वीकृत, अनैतिक र बालबालिका उपर गरिने अप्राकृतिक यौन व्यवहारलाई नै बुझाउँदछ।
पेडोफिलिया सम्बन्धी विषयवस्तु समावेश भएका कतिपय मुद्दाहरु अदालतसम्म आइपुग्दछन्। मानिसले किन यस्तो अपराध गर्दछ भन्ने प्रश्नको उत्तर अझैपनि अनुसन्धानको गर्भमा रहेको भएपनि यस्तो कार्य कानूनद्वारा दण्डनीय हुन्छ भनी राज्यहरुले फौजदारी कानूनमा यसलाई अपराध घोषित गरेका हुन्छन्। बालबालिका उपर हुने जघन्य यौनिक अपराध भएकोले यसलाई निरुत्साहित गरिनु राज्यको कर्तव्य हो र बालबालिकाको संरक्षण र समग्र हितको लागि यो आवश्यक हुन्छ।
सामान्य बोलिचालीमा pedophile भन्नाले “dirty old man”भन्ने बुझिन्छ। यसमा वयस्क व्यक्तिले नाबालक माथि धोका दिई, झुक्याई, लोभलालचमा पारी वा बल प्रयोग गरी यौन शोषण गर्दछ। अध्ययनहरुले के बताएको छ भने pedophile बाट पीडित नाबालकहरु गम्भीर रुपमा शारीरिक पीडा व्यहोर्नु पर्ने, डराउने, तर्सिने, एकोहोरिने र उनीहरुमा लामो समयसम्म मनोवैज्ञानिक असरहरु रहने गर्दछ। साथै यसमा pedophile बाट नगन्य मात्रामा यौन सम्पर्क भएपनि मूलतः चुम्बन गर्ने, सुमसुम्याउने र कथित मायालुभाव देखाउने गर्दछन्। यसरी pedophilia भन्नाले सामाजिक रुपमा अस्वीकृत, अनैतिक र बालबालिका उपर गरिने अप्राकृतिक यौन व्यवहारलाई नै बुझाउँदछ।
पेडोफिलहरु एक प्रकारका मानसिक रोगी हुन्। उनीहरुको मनमा कलिला बालबालिकाहरुलाई कसरी यौन सम्पर्क गर्ने र आफूले आनन्द लिने भन्ने मानसिक विकृतिले बास गरेको हुन्छ। पेडोफिल किन हुन्छ भन्ने सम्बन्धमा गरिएका विभिन्न अध्ययनहरुबाट मानिसको विचार नै विकृत भै एक किसिमको रोगीको रुपमा पेडोफिलहरु रहने गरेको पाइएको छ। उनीहरुलाई मानसिक परामर्शको माध्यमबाट सुधार गरिनु पर्छ भन्ने मत पनि त्यत्तिकै प्रवल रुपमा रहेको छ।
परिभाषाः
David M. Greenberg समेतले गरेको एक अनुसन्धान अनुसार पेडोफिलिया कुनै पनि व्यक्तिमा हुने एक मानसिक विकृती हो, जसमा पीडितको लैङ्गिक अवस्था (gender of the victim), निज उपर गरिने यौन दुर्व्यवहार (the exclusiveness of the subject’s preference for children) र त्यस्तो दुर्व्यवहार हाडनातामा सिमित रहेको अवस्था (whether the behavior is limited to incest) समेतमा आधारित रहेको हुन्छ।पेडोफिलियालाई दुई समूहमा राखेर परिभाषित गर्न सकिन्छ। पहिलो, infantophiles जसमा पीडितको उमेर ५ वर्ष मुनिको हुन्छ भने दोश्रो, pedophiles जसमा पीडितको उमेर ६ देखि १२ वर्षसम्मको हुन्छ।11
तर अर्को अध्ययनले पेडोफिलबाट पीडितको उमेर ५ देखि १६ वर्षसम्मको हुन सक्ने भनी देखाएको छ। Encyclopedia of Victimology and Crime Prevention volume[ 12 ] मा गरिएको परिभाषा अनुसार “Pedophilia is sexual perversion targeting children between the age of 5-16. And the pedophile is a sexual offender who targets and victimizes innocent children for his own sexual gratification. This act often causes long-term psychological damages to the children.”( पेडोफिलिया भनेको ५ देखि १६ वर्ष सम्मको बालबालिकालाई लक्षित गरी गरिने त्यस्तो यौनक्रिया हो, जसमा अपराधीले निर्दोष बालकलाई आफ्नो यौन सन्तुष्टिको लागि अप्राकृतिक यौन पीडा दिइरहेको हुन्छ। यस्तो कार्यबाट कहिलेकाहीँ लामो समयसम्म बालबालिका मनोवैज्ञानिक रुपमा प्रताडित हुने गर्दछन्।)त्यस्तै Diagnostic and Statistical Manual of Mental Disorders[ 13 ] मा उल्लेख भए अनुसार “A person who is diagnosed with pedophilia must be at least 16 years of age, but adolescents must be at least 5 years older than the prepubescent child for the attraction to be diagnosed as pedophilia.”
पेडोफिलिया समलिङ्गी वा विपरीतलिङ्गी जुनसुकै पनि हुन सक्दछ। पेडोफिलियाको भावात्मक अर्थ गर्दा यो एउटा जवानी नआइसकेको नाबालक उपर वयस्क व्यक्ति यौनिक रुपमा आकर्षित भै गरिने अप्राकृतिक यौन सम्पर्क हो भन्न सकिन्छ।[ 14 ] Justice DiTomaso ले R. v Byers को मुद्दामा “Pedophiliais a sexual preference for sexual activity with prepubescent children, typically under the age of 11. It can indicates a proclivity for sexual contract with children that cannot be expected to remit. It is present throughout the lifetime.”[ 15 ]अर्थात (उमेर नपुगेका कलिला नाबालक विशेष गरी ११ वर्ष मुनीका नाबालकप्रति आकर्षित भै उनीहरुसँग गरिने यौनिक क्रियाकलाप नै पेडोफिलिया हो। यसमा नाबालकसँग गरिने यौन सम्पर्क प्रति नै रुची राखेको हुन्छ)।
त्यस्तै Dorland’s Medical Dictionary मा”… In psychiatry, and an abnormal attraction to children by an adult for sexual purpose”[ 16 ]( मनोवैज्ञानिक आधारमा यो एउटा वयस्क व्यक्तिको बालबालिका प्रति हुने यौन आकर्षणलाई जनाउँछ) भन्ने उल्लेख छ। Jennifer Jason ले आफ्नो शोधपत्र Under the current manual of the DSM (DSM-IV-TR) मा पीडितको उमेर सम्बन्धमा “a diagnosis of pedophilia necessitates that an individual of at least sixteen years of age (and at least five years older than the child involves)”[ 17 ](पेडोफिलियामा १६ वर्ष मुनी र ५ वर्ष माथिको बालबालिका माथि गरिने यौन क्रियाकलापको अध्ययन गरिन्छ) भनी उल्लेख गरेको पाइन्छ।
Lawyers’ Medical Cyclopedia का अनुसार “Pedophilia is a sexual disorder a sexual attraction to children characterized by “recurrent, intense, sexual arousing fantasies or urges or behavior”[ 18 ] (पेडोफिलिया भनेको बालबालिका प्रति हुने त्यस्तो यौनिक विकृती वा आकर्षण हो, जसमा उनीहरुमाथि बारम्बार जबरजस्ती यौन दुर्व्यवहार गरिएको हुन्छ) भनी परिभाषा गरिएको छ।
यस प्रकार माथि उल्लिखित विभिन्न परिभाषाहरुको आधारमा पेडोफिल भन्नाले कुनै पनि व्यक्तिमा हुने एक प्रकारको यौन विकृत मानसिकतालाई बुझाउँछ। त्यस्तो विकृत मानसिकता भएको व्यक्तिले नाबालकहरुलाई यौन दुर्व्यवहार गर्न सक्दछ। यो एउटा वयस्क मानिसमा देखा पर्ने प्राकृतिक नियम भन्दा विपरीतको कार्य हो। राज्यको फौज्दारी कानूनले यसलाई अपराधको रुपमा घोषणा गरेको हुन्छ। तथापी कतिपय अवस्थामा पेडोफिलियाको विकृत मानसिकता भएका व्यक्तिहरुलाई फौज्दारी दायित्व भन्दा मनोवैज्ञानिक उपचार र सामाजिक सुधारको आवश्यकता बढी महत्वपूर्ण हुन्छ भनी अनुसन्धानकर्ताहरुले सिफारिस गरेको पाइन्छ।
यसरी पेडोफिलिया (Pedophilia) बालबालिका प्रति वयस्क व्यक्तिबाट गरिने एउटा त्यस्तो बाल यौन दुराचार (adult child sex) हो, जसको कारणबाट बालबालिकाहरु अप्राकृतिक मैथुनको शिकार हुन सक्दछन्। वर्तमान समयमा विकसित वा अविकसित जुनसुकै मुलुकमा पनि यो एउटा गम्भीर सामाजिक अपराधको रुपमा देखिएको छ। खासगरी विकसित पश्चिमी समाजमा यो एउटा नैतिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराध मानिन्छ भने अरु कतिपय मुलुकहरुमा पनि त्यस्तै मान्यता रहेको छ।यति हुँदाहुँदै पनि यस विषयमा पर्याप्त मात्रामा सचेतना रहेको पाइदैन। खासगरी सन् १९८० को दशकमा सञ्चार माध्यमहरुले यो विषयलाई गम्भीर रुपमा उठाउँदै आएका छन् भने केही दार्शनिक विद्वानहरु (Ehman, Fryee, Kershnar, Primoratz, Spiecker and Steutel) ले यस बारेमा गहिरो अध्ययन गरेको पाइन्छ।
सामान्यतया अध्ययन प्रतिवेदनहरुबाट वयस्क र बालबालिकाहरुको बीचमा यस्तो प्रकारको यौनिक अन्तरक्रिया आफ्नै परिवार, शैक्षिक संस्था र बाल सुधारगृह भित्रै हुने गरेको पाइएको छ। केही अध्येताहरुले पेडोफिलियालाई “cross-generational sex” र “inter generational sex” को रुपमा प्रस्तुत गरेको पाइन्छ भने अर्कोतर्फ यो एउटा नैतिक रुपमा अस्वीकृत कार्य भएको हुनाले “child molestation” or “child sexual abuse” को रुपमा लिने गरिएको पाइन्छ।
तसर्थ यो एउटा नैतिक रुपमा निन्दनिय र बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि घातक क्रिया हो, जुन कानूनी रुपमा अपराध हुन्छ। यसरी पेडोफिलिया सम्बन्धी यौन दुर्व्यवहार समलिङ्गी वा विपरीतलिङ्गी जुनसुकैसँग पनि हुन सक्दछ र पेडोफिलियाको भावात्मक अर्थ गर्दा यो एउटा जवानी नआइसकेको नाबालक उपर वयस्क व्यक्ति आकर्षित भै गरिने अप्राकृतिक यौनिक सम्पर्क हो भन्न सकिन्छ।
पेडोफिलियाको विभाजन यसरी गर्न सकिन्छ :
१. पीडितको लैङ्गिकताको आधारमा
२. विशिष्टिकृत रोजाइको आधारमा
३. हाडनातासँग सिमित भएको अधारमा
१. पीडितको लैङ्गिकताको आधारमा:-
पीडतको लैङ्गिक विभेद अनुसार Krafft-Ebing ले आफ्नो किताव ‘Psychopathia Sexualis’[ 19 ] मा समलैङ्गिक, बहुलैङ्गिक र द्वयलैङ्गिक पेडोफिलिया भनेर छुट्याएका छन्। समलैङ्गिक र बहुलैङ्गिक बाल यौन शोषकहरुले यस्ता कार्य दोहराउने गरेको पाइएको छ र सो व्यवहार Pedophilic व्यवहारमा परिणत हुन्छ। बहुलैङ्गिक पेडोफिलियाको तुलनामा समलैङ्गिक पेडोफाइलसले यौन शोषण गर्ने समयमा मदिरा सेवन गर्दैनन् र उनीहरुको प्रायः विवाह भएको हुँदैन।
२. विशिष्टिकृत रोजाइको आधारमा :
यसमा DSMR –III R को कुरा उठ्छ। DSMR –III R[ 20 ] एक यस्तो प्रविधि हो जुन विश्व स्वास्थ्य संस्थाबाट मान्यता प्राप्त हो, जसले असन्तुलित दिमागी रोगको पत्ता लगाउँछ। यसलाई Diagnostic and statistical Manual of Mental Disorder भनिन्छ। DSMR – III R प्रविधिको दृष्टिकोणबाट हेर्दा पेडोफाइलहरुलाई दुई किसिममा राख्न सकिन्छ। पहिलो, नाबालकहरुसँग मात्र आकर्षित हुने र दोस्रो नाबालक र वयस्क पुरुष तथा स्त्री दुवैसँग आकर्षित हुने। यस आधारमा DSMR –III – R प्रविधि अनुसार पेडोफाइललाई २ प्रकारमा विभाजन गर्न सकिन्छ :
१. विशिष्टिकृत प्रकार (Exclusive Type): यसमा विशिष्टिकृत प्रकारका व्यक्तिहरुको यौन इच्छा बालबालिकाहरुसँग मात्र सिमित हुन्छ।
२. गैर विशिष्टिकृत प्रकार (Non-exclusiveType): यसमा गैर विशिष्टिकृत प्रकारका व्यक्तिहरुका यौन इच्छा दुबै लैङ्गिकसँग हुने गर्दछ र समयको अन्तरालमा बच्चा र वयस्क दुबैसँग हुने गर्दछ।
३. हाडनातासँग सिमित भएमा :
Russell ले आफ्नो अध्ययनमा के उल्लेख गरेकी छन् भने हाडनातामा हुने यौन शोषण अन्तर्गत आफ्नै बाबुबाट भन्दा झड्केलो बाबुबाट सात गुना बढी यौन शोषण हुने पाइएको छ। बालबालिका जो ५ वर्ष भन्दा कम उमेरका छन् यदि त्यस्ता बालबालिकामाथि कसैले यौन दुर्व्यवहार गर्छ भने त्यस्तो दुर्व्यवहारलाई infantophilia भनेर परिभाषित गरिएको छ भने ८ वर्ष देखि १२ वर्ष सम्मको बालबालिकामाथि गरिने यौन शोषण वा दुर्व्यवहारलाई पेडोफिलिया भनिन्छ।
४. कानूनी व्यवस्थाः
विभिन्न मुलुकहरुमा गरिएको यौन अपराध सम्बन्धी कानूनी व्यवस्थाको अध्ययन गर्दा पेडोफिलसँग सम्बन्धित अपराधलाई जबरजस्ती करणी सम्बन्धी कानूनमा नै सम्बोधन गरिएको पाइन्छ। यस सम्बन्धमा केही मुलुकको कानूनी व्यवस्था बढी प्रष्ट रुपमा उल्लेख छ भने केही मुलुकमा अप्राकृतिक मैथुनको रुपमा मात्र परिभाषित गरिएको पाइन्छ। निम्न उल्लिखित मुलुकको कानूनी व्यवस्थालाई यहाँ उल्लेख गर्न सकिन्छ :
भारतः
भारतीय फौजदारी कानून विस्तृत रुपमा संहितावद्ध कानून हो। खासगरी Indian Penal Code 1960 ले सबै प्रकारका फौजदारी कसूरहरुलाई समेट्ने प्रयास गरेको छ।सो व्यवस्था अनुसार अप्राकृतिक मैथुन दण्डनीय बनाइएको छ। करणी सम्बन्धी अपराध अन्तर्गत पर्ने पेडोफिलियाको सम्बन्धमा उक्त अपराध संहिताको दफा ३७७ ले प्रष्ट रुपमा उल्लेख नगरेपनि अप्राकृतिक मैथुनलाई कानून विपरीतको कार्य मानी निम्न बमोजिम उल्लेख गरेको पाइन्छ। “स्वेच्छाले नै भएपनि अप्राकृतिक रुपमा कुनै पुरुष, महिला वा पशुले करणी वा त्यस्तो प्रकृतिको कार्य गरेको पाइएमा सोलाई आजीवन कैद वा १० वर्षसम्म कैद र जरिवाना दुबै गर्नुपर्दछ।” (Section 377: “ whoever voluntarily has carnal intercourse against the order of nature with any man, woman or animal, shall be punished with imprisonment for life, or with imprisonment of either description for a term which may extend to ten years, and shall be liable to fine”)
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाको कानूनी व्यवस्था अनुसार छुट्टै Sexual offences Act, 1957 अन्तर्गत करणी सम्बन्धी अपराधलाई सम्बोधन गरिएको पाइन्छ। त्यहाँ पनि अप्राकृतिक मैथुनलाई अपराध घोषित गरिएको छ र पेडोफिल सम्बन्धी छुट्टै कानूनी व्यवस्था नभएकोले यसैभित्र सो कार्यलाई समेटिएको पाइन्छ। Sexual offences Act, 1957 को दफा १४ मा Sexual offences with youths अन्तरगत निम्न व्यवस्था भएको पाइन्छ: (1) Any male person who -(a) has or attempts to have unlawful carnal intercourse with a girl under the age of 16 years; or(b) commits or attempts to commit with such a girl or with a boy under the age of 19 years an immoral or indecent act; or(c) solicits or entices such a girl or boy to the commission of an immoral or indecent act, shall be guilty of an offence. (उक्त ऐनको दफा १४(१)(क) मा “कुनै पुरुषले १६ वर्ष भन्दा कम उमेर भएको नाबालकलाई करणी गरेमा वा करणीको उद्योग गरेमा अप्राकृतिक करणी गरेको ठहर्छ” भनी उल्लेख छ। त्यस्तै कुनै पुरुषले १९ वर्षभन्दा कम उमेर भएको बालक वा बालिकालाई माथि उल्लिखित कार्य गर्न कर गरेमा वा उक्साएमा समेत कसूर ठहर्छ) भनी परिभाषा गरिएको छ। यस्तो अपराधमा ६ वर्ष सम्म कैद र १२ हजार सम्म जरीवाना हुने व्यवस्था छ।[ 21 ]
डेनमार्क
डेनमार्कको TheDanishCriminalCodeforSexual Offenses Against Children को दफा २२२ को उपदफा (१) ले (1) Any person who has sexual intercourse with any child under the age of 15 shall be liable to imprisonment for any term not exceeding 6 years.(2) If the child is under the age of 12, or if the perpetrator has enforced the sexual intercourse by coercion or by intimidation, the penalty may be increased to imprisonment for any term not exceeding 10 years. भन्ने व्यवस्था गरेको छ। सो अनुसार (कुनै पनि व्यक्तिले १५ वर्षभन्दा मुनिको नाबालकलाई करणी गरेमा ६ वर्ष ननाघ्ने गरी कैद सजायहुने व्यवस्था गरेको छ। उपदफा (२) अनुसार यदि १२ वर्ष मुनिको नाबालकलाई जबरजस्ती डर त्रास देखाई करणी गरेको भए १० वर्षसम्म कैद सजाय हुने) व्यवस्था छ। त्यस्तै दफा २२५ ,दफा २१६-२२० अनुसार यदिएउटै Sex को व्यक्तिसँग यौन सम्पर्क राखेको पाइएमा र दफा २२२-२२३ मा भएको व्यवस्था जस्तै सजाय हुन्छ।
क्यानडा
क्यानडाको Criminal Code (R.S.C., 1985, c. C-46) ले करणी सम्बन्धी अपराधको परिच्छेद अन्तर्गत मञ्जुरी आवश्यक नपर्ने (Consent no defense) अन्तर्गत निम्न व्यवस्था गरेको पाइन्छः[ 22 ]
150.1 (1) Subject to subsections (2) to (2.2), when an accused is charged with an offence under section 151 or 152 or subsection 153(1), 160(3) or 173(2) or is charged with an offence under section 271, 272 or 273 in respect of a complainant under the age of 16 years, it is not a defense that the complainant consented to the activity that forms the subject-matter of the charge. (उपर्युक्त दफाहरुको आधारमा अभियोग लगाइएकोमा १६ वर्ष भन्दा मुनिको नाबालकको हकमा मञ्जुरी आवश्यक पर्दैन।)
यस्तो अपराधमा अपराधको मात्रा अनुसार १ वर्ष देखि १० वर्ष सम्म कैद सजाय हुन्छ।[ 23 ] 151. Every person who, for a sexual purpose, touches, directly or indirectly, with a part of the body or with an object, any part of the body of a person under the age of 16 year
(a) is guilty of an indictable offence and is liable to imprisonment for a term of not more than 10 years and to a minimum punishment of imprisonment for a term of one year;
अमेरिका
अमेरिकामा बालबालिका उपर हुने यौन हिंसात्मक अपराधलाई संवोधन गर्न Child Pornography Prevention Act; 1996 बहाल रहेको छ। Amber Hagerman child Protection Act of 1996 ले 18 U.S.C. 2241(C) र 2243 (a) लाई संशोधन गरी पटके अपराधीलाई जन्मकैदको सजाय तोक्ने व्यवस्था समेत गरेको छ। नाबालकको हकमा यौन दुर्व्यवहार वा यौन शोषण गरिएको पाइएमा र यस्तो कार्य गर्दा पीडितको ज्यान गएमा सो पिडकलाई मृत्युदण्ड वा आजन्म कैद समेत हुन सक्दछ।
अमेरिकामा 18 U.S. Code § 2251 – Sexual exploitation of children ले बालबालिका उपर हुने यौन शोषणको सम्बन्धमा निम्न व्यवस्था गरेको पाइन्छः[ 24 ]
(a) Any person who employs, uses, persuades, induces, entices, or coerces any minor to engage in, or who has a minor assist any other person to engage in, or who transports any minor in or affecting interstate or foreign commerce, or in any Territory or Possession of the United States, with the intent that such minor engage in, any sexually explicit conduct for the purpose of producing any visual depiction of such conduct or for the purpose of transmitting a live visual depiction of such conduct, shall be punished as provided under subsection (e),
(e) Any individual who violates, or attempts or conspires to violate, this section shall be fined under this title and imprisoned not less than 15 years nor more than 30 years, Whoever, in the course of an offense under this section, engages in conduct that results in the death of a person, shall be punished by death or imprisoned for not less than 30 years or for life.
यस्तो आपराधिक कार्य गर्नेलाई १५ वर्ष भन्दा बढी ३० वर्ष भन्दा कम सजाय तोकिने व्यवस्था छ। यस्तो अपराधमा दुई वा दुई भन्दा बढी व्यक्ति संलग्न भएमा कसूरदार ठहरिएलाई जरिवाना सहित ३० वर्ष भन्दा कम नहुने गरीर जन्म कैद भन्दा बढी नहुने गरी सजाय हुन्छ।
अष्ट्रेलिया
अष्ट्रेलियाको हकमा कुनै एक सिङ्गो वा पूर्ण कानूनको व्यवस्था गरिएको छैन, जसले बालबालिकालाई हुने यौनजन्य अपराधलाई केलाउँछ। फरक-फरक प्रान्तहरुमा पेडोफिलियासम्बन्धी आपराधिक कार्यलाई भिन्न ढङ्गले व्याख्या गरिएको पाइन्छ। जस्तै :
Queensland मा प्रचलित Pedophile सम्बन्धी कानूनहरु निम्न बमोजिम छन्
- Evidence Act, 1977
- Child Protection Act, 1999
- Commission for children and young people and child guardian Act 2000
- The child Protection Act, 2004
- The child Protection Act, 2008
- Public Health Act 2005
नेपाल
मुलुकी ऐन जबरजस्ती करणीको महल
प्रचलित नेपाल कानूनमा अप्राकृतिक मैथुन सम्बन्धी केही कानूनी व्यवस्था गरिएको भएपनि पेडोफिल सम्बन्धी अपराधबारे प्रष्ट रुपमाउल्लेख गरिएको पाइदैन। पेडोफिल अप्राकृतिक मैथुन अन्तर्गत पर्ने अपराध हो र यो अपराध नाबालहरुसँग मात्र हुन्छ। विभिन्न अध्ययन अनुसार ५ देखि १६ वर्षसम्मका नाबालकहरु पेडोफिलको मानसिक विकृति भएका व्यक्तिको यौन दुर्व्यवहारबाट पीडित हुन पुग्दछन् भन्ने प्रमाणित हुन पुगेको छ। हाम्रो कानूनी व्यवस्थामा यस्तो अपराधलाई समेट्ने प्रचलित कानून भनेको मुलुकी ऐन जबरजस्ती करणीको महल नै हो। सो महलमा गरिएको कानूनी व्यवस्था निम्न प्रकार रहेको छ :
दफा १ :“कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर्छ।”
दफा ९ क :“कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पुग्न गएको मर्का समेत विचार गरी अदालतले अप्राकृतिक मैथुन गर्नेबाट मनासिव माफिकको क्षतिपूर्ति समेत भराई दिनु पर्छ।”
जबरजस्ती करणीको महलको ३ नं. ले जबरजस्ती करणी गरेमा पीडितको उमेरको आधारमा कसुरदारलाई न्यूनतम् ६ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ, जुन निम्न बमोजिम छ :
दफा ३ : जबरजस्ती करणी गर्नेलाई देहाय बमोजिम कैद सजाय हुनेछ :
दश वर्षभन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र वर्षसम्म
दश वर्ष वा सोभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म
चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि दश वर्षसम्म
प्रस्तावित फौजदारी अपराध संहिता २०६७ :
प्रस्तावित फौज्दारी अपराध संहिता २०६७ को परिच्छेद १८ मा करणी सम्बन्धी कसूर बारे कानूनी व्यवस्था गरिएको छ। यस संहिताको दफा २२० देखि २२९ सम्म करणी सम्बन्धी अपराधको परिभाषा सजाय, क्षतिपूर्ति र हदम्यादको सम्बन्धमा उल्लेख गरिएको छ। यस अन्तर्गत दफा २२७ मा अप्राकृत मैथुन सम्बन्धमा निम्न व्यवस्था गरिएको पाइन्छ :
१) कसैले कसैको ईच्छा विरुद्ध अप्राकृतिक मैथुन गर्नु हुँदैन।
२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।
३) नाबालक विरुद्ध उपदफा (१) को कसूर गर्ने व्यक्तिलाई दफा २२० बमोजिम सजाय हुनेछ।
४) कसैले पनि पशु करणी गरे वा पशुबाट करणी गराउन वा अन्य कुनै किसिमले अप्राकृतिक मैथुन गर्नु गराउनु हुँदैन।
५) उपदफा (४) बमोजिमको कसूर गर्नेलाई गाईको करणी गरेको भए २ वर्ष सम्म कैद र २० हजार रूपैयाँसम्म जरिवाना र अन्य चौपाया करणी गरे वा गराएको भए १ वर्षसम्म कैद र १० हजार रूपैयाँ सम्म जरिवाना हुनेछ।
अप्राकृतिक मैथुन सम्बन्धी गरिएको उपर्युक्त कानूनी व्यवस्था हेर्दा प्रस्तावित फौज्दारी अपराध संहिता २०६७ को दफा २२७ को उपदफा ३ मा उल्लिखित कानूनी व्यवस्था नाबालक विरुद्ध गरिने अप्राकृतिक मैथुनसँग सम्बन्धित छ। आधुनिक युग सुहाउँदो कानून निर्माण गर्ने क्रममा प्रस्ताव गरिएको नाबालक उपर गरिने त्यस्तो कसूरको सम्बन्धमा पनि मुलुकी ऐनको पुरानै व्यवस्था मात्र राखिनुले समयानुकूल परिवर्तन हुन सकेन। वास्तवमा पेडोफिलका विकृत मनस्थिति भएका व्यक्तिले बालबालिका उपर गर्ने यौनजन्य कसूरलाई छुट्टै दफा राखी समेट्नु पर्ने आजको आवश्यकता हो।
प्रस्तावित व्यवस्था अनुसार यस्तो कसूर गर्ने व्यक्तिलाई दफा २२० बमोजिम सजाय हुने कानूनी व्यवस्था भएकोले सो दफा २२० अन्तर्गतको नाबालकसँग सम्बन्धित कानूनी व्यवस्था निम्न बमोजिम रहेको छ :
दफा २२० जबरजस्ती करणी गर्न नहुने :
(१) कसैले जबरजस्ती करणी गर्नु हुँदैन।
(२) मञ्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कमउमेरको नाबालिकालाई करणी गरेमा निजले त्यस्तो नाबालिकालाई जबरजस्ती करणी गरेको मानिने छ।
यस्तो अपराधमा योनीमा लिङ्ग केही मात्र प्रवेश भएको वा मुख मैथुन वा गुँदद्वार करणी रहेछ भने पनि यस दफाको प्रयोजनका लागि करणी भएको मानिनेछ भन्ने व्यवस्था दफा २२०(२) को स्पस्टीकरण (ग) मा उल्लेख गरेको पाइन्छ। सो स्पस्टीकरणमा उल्लिखित मुख मैथुन र गुँदद्वार करणी अप्राकृतिक मैथुनसँग सम्बन्धित छ।
यस कानूनी व्यवस्थामा मुलुकी ऐन जबरजस्ती करणीको महलको दफा ९क मा उल्लेख भएको “नाबालक” भन्ने शब्द भन्दा पनि पछाडि फर्केर “नाबालिकालाई” भन्ने मात्र शब्द उल्लेख गरेको हुँदा नाबालकलाई मुख मैथुन वा गुँदद्वार करणी गरेको रहेछ भने कसूर कायम गर्न कानूनतः मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा प्रष्टता देखिन आउँदैन।
नाबालक माथि गरिने प्राकृतिक वा अप्राकृतिक दुबै किसिमको करणी सम्बन्धी अपराधमा प्रस्तावित अपराध संहिताको दफा २२० (३) मा निम्न बमोजिमको व्यवस्था गरिएको छ, जुन मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ नं. मा उल्लिखित कानूनी व्यवस्थासँग नै मिल्न आउँछ।
५. न्यायिक अभ्यासः
पेडोफिल सम्बन्धी अपराधको बारेमा विभिन्न मुलुकहरुका अदालतले आफ्नो प्रचलित कानूनको अधिनमा रही कानूनी व्याख्या गरेका छन्। गरिएका त्यस्ता अदालती व्याख्याहरु न्यायाधीश निर्मित कानूनको रुपमा लिन सकिन्छ। हुन त पेडोफिलियाको मनस्थिति भएका मानिसहरु मानसिक रुपमा विकृत हुने भएकोले उनीहरुलाई परामर्श र उपचारको माध्यमबाट सुधार गरिनुपर्छ भन्ने अनुसन्धानकर्ताहरुको जोडदार सुझाव समेत रहेको पाइन्छ। तर त्यस्तो विकृत मनस्थिति भएका व्यक्तिहरु पनि अरु सामान्य मानिसहरु जस्तै व्यवहार गर्न सक्ने र मानसिक रुपमा विक्षिप्त व्यक्ति नभई मानसिक संतुलन भएकै व्यक्ति हुनाले उनीहरुको मानसिक विकृतिको उपज हो भन्ने अधारमा मात्र बालबालिका प्रति हुने यौन दुर्व्यवहारको कसूरबाट उनीहरुलाइ उन्मुक्ति दिन मिल्दैन। यस सम्बन्धमा भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, अमेरिका र नेपालको न्यायिक अभ्यासको संक्षिप्त विवेचना तल गरिएको छ :
भारतः
भारतको सर्वोच्च अदालतले दुई जना ब्रिटीस नागरिक (Duncan Grant and Alan Waters)लाई नाबालकहरुमाथि अप्राकृतिक मैथुन गरेकोमा शुरु अदालतले कसूरदार ठहर गरी मुम्बई उच्च अदालतले सफाई दिएको मुद्दामा शुरु अदालतको निर्णय नै उचित ठहर गरी सजाय दिएको पाइन्छ। उक्त मुद्दामा सर्वोच्च अदालतले मार्मिक व्याख्या गर्दै भनेको छ “Children are the greatest gift to humanity. The sexual abuse of children is one of the most heinous crimes. It is an appalling violation of their trust, an ugly breach of our commitment to protect the innocent. There are special safeguards in the Constitution that apply specifically to children.” अर्थात (बालबालिका भनेका मानव मात्रको लागि अमूल्य उपहार हुन्। उनीहरुमाथि गरिने यौन अपराध ज्यादै गम्भीर हुन्छ। यो उनीहरुको विश्वास माथिको अत्यन्त डरलाग्दो बदला हो। निर्दोष बालबालिकालाई संरक्षण गर्ने प्रतिवद्धताको घिनलाग्दो उल्लंघन हो। त्यसैले संविधानले बालबालिकाहरुको संरक्षणको लागि विशेष संरक्षणको व्यवस्था गरेको छ।)
खानु वि. एम्पेरोरको मुद्दामा पनि भारतीय अदालतले “पिडकले एक नाबालकको मुखमा आफ्नो लिङ्ग चुसाई अप्राकृतिक करणी गरेको हुनाले र यस्तो कार्यबाट गर्भ धारण नहुने भएकोले सो कार्यलाई अप्राकृतिक करणी मानिने” भनेर परिभाषित गरिएको छ।[ 25 ]
दक्षिण अफ्रिकाः
पेडोफिलियाको प्रश्न समावेश भएको एक मुद्दा Geldenhuys v. National Director of Public Prosecution and others मा दक्षिण अफ्रिकी अदालतले व्याख्या गरेको छ। यसमा सन् २००५ मा अभियुक्त Geldenhuys ले एक नाबालक केटासँग अनैतिक कार्य गरेको कारण Sexual offences Act, 1957 को दफा१४(१)(ख) अनुसार निजलाई अपराधी घोषित गरेको थियो। निज अभियुक्तलाई १० वटा कसूर लगाइएको थियो। जसमध्ये चार वटा कसूर पीडित १५ वर्ष भन्दा कम उमेर भएको अवस्थामा गरिएको थियो भने बाँकी ६ वटा कसूर पीडित १६ वर्ष माथि भएको अवस्थामा लगाइएको थियो। यस मुद्दामा पिडकलाई ११ वर्ष जेल सजाय सुनाइएको थियो।
अष्ट्रेलियाः
R. V. Ferguson, (2008) को मुद्दामा अष्ट्रेलियन नागरिक Dennis Raymond Ferguson लाई सन् १९८९ मा ३ जना बालबालिकालाई यौनजन्य घृणित कार्य गरेको अपराधमा १४ वर्ष जेल सजाय तोकिएको थियो। उनले ती ३ बालबालिकाहरुलाई अपहरण गरी यौन शोषण गरेका थिए।
क्यानडा:
क्यानडामा सन् १९७० को दशकमा क्यानेडियन नागरिक E. FENWICKMACINTOSH ले पेडोफिल सम्बन्धी अपराधमा अदालती कारवाही व्यहोर्नु परेको थियो।सन् २०१३ मा प्रकाशित Report of the Attorney General of Nova Scotia का अनुसार सन् १९९५ मा निज निज विरुद्ध पहिलो Sexual assault को मुद्दा दर्ता भएको थियो। तर उनी १९९४ मै भारत आएका थिए। त्यसैकारण निज विरुद्ध कारवाही हुन सकेको थिएन। सन् २००७ मा निजलाई भारतको नयाँ दिल्लीमा पक्राउ गरी क्यानडा सुपुर्दगी गरिएको थियो। सन् २००९ सम्ममा उनी विरुद्ध ४६ Sexual assault को जाहेरी परेकोमा ३६ वटामा निज विरुद्ध मुद्दा चलाइएको थियो। जसमध्ये त्यहाँको पहिलो सुनुवाई (The first trial) मा १३ वटा अभियोग (13 counts) मा दोषी ठहर गरेको थियो।[ 26 ] पछि मुद्दाको दोश्रो सुनुवाई (The second trial) बाट ६ वटा अभियोग (6 counts) मा सजाय गर्ने फैसला भएको थियो।[ 27 ] त्यसपछि MacIntosh ले पुनरावेदन गरेकोमा अदालतले निज विरुद्ध लगाइएको अभियोग अनुचित विलम्वको सिद्धान्त (undue delay principle) अनुसार खारेज गरेको थियो। साथै सर्वोच्च अदालतबाट समेत निज उपरको सो अभियोग विलम्बको सिद्धान्तका आधारमा खारेज भएको देखिन्छ।
यसरी क्यानडाको सर्वोच्च अदालतले निज विरुद्धको अभियोग खारेज गरेतापनि खारेज गरिनुको सैद्धान्तिक आधार निज निर्दोष थिए भन्ने नभई लामो समयपछि मात्र मुद्दा चलाइएको भनी विलम्बको सिद्धान्तमा आधारित रहेबाट उनी उपरको अभियोग दावीबाट सफाई नै पाएको भन्न मिल्दैन। त्यसो त निजले अपराध गरेको भन्ने ठहर शुरु अदालतले गरिसकेकोमा माथिल्लो अदालतले कुनै आपत्ति जनाएको समेत पाइदैन। अभियुक्तको आपराधिक इतिहासले उसबाट पछि हुने अपराधको सम्बन्धमा समेत प्रभाव पारेको हुन्छ। सन् २०१४ मा उनी नेपालमा यस्तै अभियोगमा पक्राउ परी निजलाई ललितपुर जिल्ला अदालतले ७ वर्ष कैद र पीडितको लागि १० लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको पाइन्छ।[ 28 ]
अमेरिकाः
अमेरिकाको क्यालिफोर्नियामा भएको पेडोफिलिया सम्बन्धी अपराधमा OSCAR D. Perez: Perez जो st. George’s Episcopalian Church को पास्चर थिए, उनलाई ५ नाबालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको अभियोगमा ३३० वर्ष कैद सजाय सुनाइएको थियो। उनलाई २२ कसूरमा कसूरदार ठहर्याइएको थियो।[ 29 ]
नेपाल
पछिल्ला दिनहरुमा सञ्चार माध्यमले समाचार संप्रेषण गर्ने समेत गरेको कारणबाट जबरजस्ती करणी सम्बन्धी अपराधहरु प्रशस्त मात्रामा अनुसन्धानको दायरामा आएको पाइन्छ। यस्ता अपराधमा नाबालकहरु नै बढी भन्दा बढी संख्यामा पीडित रहेका छन्। त्यसमा पनि नाबालकहरु माथि अप्राकृतिक मैथुन गरी अपराधमा संलग्न व्यक्तिहरुको सम्बन्धमा पनि अनुसन्धान हुने गरेको छ। तर धेरैजसो उजुरीमा परम्परागत जबरजस्ती करणीको तथ्यहरु उल्लेख हुने र हाम्रो अनुसन्धान पद्दती अप्राकृतिक मैथुन अझै त्यस भित्र पर्ने पेडोफिलिया सम्बन्धी अपराधमा केन्द्रिकृत हुन सकेको पाइदैन। त्यसैले ज्यादै नगन्य संख्याको मुद्दाहरु मात्र अप्राकृतिक मैथुनमा आउने र अझै त्यसमा पेडोफिल सम्बन्धी मागदावी त नगन्य नै रहेको अवस्था छ। यति हुँदाहुँदै पनि थोरै संख्यामा त्यस्तो मागदावी भएका मुद्दाहरु अदालत प्रवेश गरेका छन्। र सर्वोच्च अदालत सम्म पुगेर केही सिद्धान्तहरु समेत प्रतिपादित भएका छन्, जुन निम्न अनुसार छन् :
१. नेदरल्याण्ड घर भै हाल थुनामा रहेको Molhuysen Hendric Otto विरुद्ध क र ख नाम परिवर्तितको जाहेरीले नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा : यस मुद्दामा जीवन चाइल्ड केयर हाउसमा बस्ने बालकहरुलाई प्रतिवादी ओटोले आफ्नो कोठामा बोलाएर नाबालकहरुलाई सर्वाङ्ग नाङ्गो भै सुत्न लगाउने, हात र मुखले नाबालकलाई लिङ्ग खेलाउन लगाउने, आफ्नो लिङ्गमा मलम लगाई नाबालकको मलद्वारमा घुसाई जबरजस्ती करणी गर्ने गरेको उजूरी परेको थियो।
यस मुद्दामा सर्वोच्च अदालतबाट निम्न बमोजिम व्याख्या भएको छः[ 30 ]
क) अप्राकृतिक मैथुनको अर्थ गर्दा अस्वभाविक रुपमा अप्राकृतिक तवरले गरिएको मैथुनलाई जनाउने भए पनि अप्राकृतिक मैथुनको किसिम र मैथुन गर्ने गराउने क्रिया र माध्यम फरक-फरक हुन सक्ने। (प्रकरण नं. ९)
ख) अप्राकृतिक मैथुन के कसरी हुने भन्ने सम्बन्धमा विभिन्न कानूनी प्रावधानहरुमा उल्लेख गरिएको अवस्थामा कुनै कानूनी प्रावधानमा तत् सम्बन्धमा गरिएको व्यवस्थाले तत्सम्बन्धी अन्य कानूनी व्यवस्थामा भएको प्रावधानलाई आबद्ध गरेको छैन वा इङ्गित गरेको छैन भने फरक-फरक प्रयोजनका कानूनी प्रावधानहरुमा गरिएका व्यवस्थाहरुलाई एउटै अर्थमा लिन नमिल्ने। (प्रकरण नं. १०)
ग) कुनै कसूरको नामाकरण एउटै भए पनि सो कसूरमा विविध क्रियाहरु समावेश हुन सक्ने र ती क्रियाहरुको गम्भीरताको आधारमा विधायिकाले फरक सजायको व्यवस्था गर्न सक्दछ। त्यसै गरी अप्राकृतिक मैथुनको कसूरमा के कस्ता कार्यहरु अन्तरनीहित हुन सक्तछन् भनी विधायिकी कानूनले स्पष्ट पारी फरक-फरक क्रिया, माध्यम र विषयवस्तुको गहनताको आधारमा मुद्दाको कारवाहीको प्रक्रिया पनि फरक ढंगले तोक्न सक्दछ। यस परिदृष्टिमा मुलुकी ऐन,जबरजस्ती करणीको महलको ९क नं. मा उल्लिखित अप्राकृतिक मैथुनको कसूरमा पशु करणीको महलको ४ नं. आकर्षित हुने भन्न नमिल्ने। (प्रकरण नं. ११)
घ) विधायिकाले नै नाबालक उपरको अप्राकृतिक मैथुनलाई जबरजस्ती करणीको परिभाषाभित्र पारेको देखिएको अवस्थामा त्यस्तो क्रियालाई व्याख्याको माध्यमबाट बाल दूराचार (child abuse) मान्न नसकिने। (प्रकरण नं. १२)
यस मुद्दामा सर्वोच्च अदालतले एउटा महत्वपूर्ण प्रश्नमा व्याख्या गरेको छ, जसमा मुलुकी ऐन जबरजस्ती करणीको ९क को कसूरमा सोही महलको ३ नं. बमोजिमको सजाय आकर्षित हुन सक्ने हो वा होइन भन्ने प्रश्न उठाइएको थियो। सर्वोच्च अदालतले जबरजस्ती करणीको महलको ९क नं. को व्यवस्थामा पीडितलाई नाबालक भनी उल्लेख गरेको देखिएपनि महिला वा पुरुष नाबालक भनी विभेद गरेको छैन र नाबालकसँगको अप्राकृतिक मैथुनलाई स्पष्ट रुपमा जबरजस्ती करणीको कसूर भनी सम्बोधन गरेको देखिएबाट जबरजस्ती करणीको १ नं. मा गरिएको परिभाषामा सो व्यवस्था अन्तरनिहित रहेको मान्नुपर्ने हुन्छ। तसर्थ मुलुकी ऐन जबरजस्ती करणीको महलको ९क नं. को कसूरमा सोही महलको ३ नं. बमोजिम सजाय गर्न सकिन्छ भनी व्याख्या गरेको पाइन्छ। त्यस्तै अप्राकृतिक मैथुनको कसूरमा पशु करणीको महलको ४ नं. आकर्षित हुने भन्न नमिल्ने भनी प्रष्ट रुपमा पशु करणीको महल मानव करणीको महल भन्दा बिल्कुल फरक हो भन्ने व्याख्या भएको छ।
२. समिर शाक्य विरुद्ध राजेन्द्र डंगोलको जाहेरीले नेपाल सरकार भएको अप्राकृतिक मैथुन मुद्दा : एकै घरमा डेरा गरी बस्दै आएका समिर शाक्यले वर्ष ४ को नाबालक आदर्श डंगोललाई आफ्नो सुत्ने कोठामा लगी गुँदद्वारमा जबरजस्ती करणी गरी रगत समेत निकाली घाउ समेत बनाई अप्राकृतिक मैथुन गरेको हुँदा कारवाही गरी पाऊँ भन्ने उजूरी परेको देखिन्छ।
यस मुद्दामा सर्वोच्च अदालतबाट निम्न बमोजिम व्याख्या भएको पाइन्छः[ 31 ]
क) जबरजस्ती करणीको ९ नं. ले नाबालकसँग गरेको कुनै किसिमको अप्राकृतिक करणीलाई अपराधजन्य भनेर परिभाषित गरिरहेको देखिँदा गुँदद्वार मैथुन गरेको कार्य अप्राकृतिक करणीको परिभाषा नभएकोले अपराध होइन भनेर दण्डित नहुने भन्न नमिल्ने। (प्रकरण नं. २९)
ख) विधायिकाले जबरजस्ती करणीको महलमा ९क नं. थप गरेर नाबालकमाथि गरिने अप्राकृतिक करणीलाई जबरजस्ती करणीको समकक्ष मात्र नभएर त्यो भन्दा अझ कडा अपराधको श्रेणीमा राखी त्यस्तो अपराधका लागि उक्त महलको ३ नं. मा वर्णित सजायमा थप सजाय समेत निर्धारण गरेको पाइदा ९क नं. र ३ नं. परस्पर पुरक बन्न पुगेका देखिएका छन्। अर्थात ३ नं., ९क नं. को पूरक अर्थात ९क नं. मा समावेश भए सरह हुन पुगेको छ। त्यस्तो हुँदा ९क नं. ले नाबालकसँग गरिने अप्राकृतिक करणीलाई सजायको भागी बनाएर ३ नं. को सजायमा अरु थप सजाय गर्ने व्यवस्था गरेको पाइने। (प्रकरण नं. ३०)
यस मुद्दामा सर्वोच्च अदालतले कानूनमा अप्राकृतिक मैथुनको स्पष्ट परिभाषा नलेखिएको भएपनि नाबालक उपर अप्राकृतिक रुपमा गरिने करणीलाई स्वतः अपराध मान्नु पर्ने व्याख्या गरेको छ। त्यस्तै जबरजस्ती करणीको महलमा संशोधनबाट ९क नं. थप गरिनुको अर्थ अप्राकृतिक मैथुनलाई जबरजस्ती करणी भन्दा पनि बढी जघन्य अपराध मानी थप एक वर्ष सम्म सजाय हुनसक्ने कानूनी व्यवस्था गरेकोले जबरजस्ती करणीकी ३ नं. र ९क नं. एकअर्काका सम्बद्ध दफाहरु हुन् भनी प्रष्ट पारेको छ।
३. त्रिरत्न चित्रकार विरुद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा : संरक्षणका लागि पठाइएकी नाबालिका दर्दनाक रुपमा रोएकी र सोधपुछ गर्दा घरमा काम गर्ने राख्ने त्रिरत्न चित्रकारले ३ वर्ष अगाडि देखि जबरजस्ती करणी गर्दै आएको भनी बताएकोले आवश्यक कारवाहीको लागि जाहेरी परेको, प्रतिवादीले नाबालिकाको पिसाव फेर्ने ठाउँमा आफ्नो लिङ्ग जबरजस्ती हाल्ने गरेको, दुधमा टोक्ने गरेको र पिसाव फेर्ने कुराबाट सिँगान निकाल्ने र मेरो हातमा हालीदिने गरी कुटपीट समेत गर्दै आएको भन्ने पीडितको बयान रहेको पाइन्छ।
यस मुद्दामा सर्वोच्च अदालतको निम्न बमोजिमको दृष्टिकोण रहेको पाइन्छः[ 32 ]
क) मिसिल हेर्दा पुनरावेदक एक बलात्कारी मात्र नभई child abuser पनि देखिन्छ। सम्भवतः आफ्नो नियन्त्रणमा राखिएकी एक नाबालक महिलाको pedophile बाट बारम्बार यौन शोषण भएको अदालतको जानकारीमा आएको यो पहिलो मुद्दा होला। यस मुद्दामा पीडित उपर आशय करणी, जबरजस्ती करणी र अप्राकृतिक मैथुन समेतको अपराध बारम्बार भएको प्रमाणित भएको छ। यस अपराधलाई custodial rape भने पनि हुन्छ। यस्तो अपराधमा पुनरावेदन अदालतले जिल्ला अदालतले गरेको कैद सजायमा हस्तक्षेप गर्न हुँदैनथ्यो।
ख) पुनरावेदन अदालत जस्तो उच्च तहको अदालतलाई एक नाबालक sexually abused भएको जघन्य अपराधमा जिल्ला अदालतले Trial का सबै चरण हेरी ठेकेको कैद हुकुमी शासन प्रणाली ढाँचामा स्वेच्छाचारी ढङ्गले कुनै आधार र कारण नदिई सजाय घटाउने अधिकार हुँदैन भनी व्याख्या गरेको छ। भविष्यमा यस्ता अपराधमा अपराधीप्रति सहानुभूति (lenient) देखाई सजाय कम नगर्नु भनी सबै पुनरावेदन अदालत र जिल्ला अदालतका माननीय न्यायाधीशहरुले सजाय गर्दा अपराधको गाम्भीर्य र अपराधबाट पीडितलाई पर्न गएको क्षति पीडालाई बुझी सजाय तोक्नू भनी आदेश समेत गरेको छ।
यस मुद्दामा सर्वोच्च अदालतले प्रतिवादीलाई पेडोफिलको रूपमा लिएको छ। आफ्नो संरक्षणमा राखी जबरजस्ती करणी गरेको ठहर गरेको छ। पुनरावेदन अदालतले जिल्ला अदालतले ठेकेको कैद घटाएकोमा चेतावनी दिँदै मातहतका अदालतहरुलाई यस्ता मुद्दामा सजाय निर्धारण गर्दा गम्भीर हुन कडा निर्देशन दिएको छ।
४. क कुमारीको जाहेरीले नेपाल सरकार विरुद्ध राजेश क्षेत्री भएको जबरजस्ती करणी मुद्दा : प्रतिवादी राजेश क्षेत्री र पीडित वर्ष ५ को ख कुमारी एउटै घरमा डेरा गरी बसेका, ख कुमारीलाई प्रतिवादीले ओछ्यानमा सुताई टाउको र मुखमा आफ्नो लिङ्ग दली जबरजस्ती मुखमा लिङ्ग पसाई अनुहारमा पीसाव समेत फेरेको र जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी परेको छ। निज माथि मुलुकी ऐन जबरजस्ती करणीको ९क तथा ३(१) को अभियोग लगाइएको पाइन्छ।
यस मुद्दामा सर्वोच्च अदालतको निम्न बमोजिमको दृष्टिकोण रहेको पाइन्छ[ 33 ]:
क) बालिकाको मुख, टाउको लगायत शरीरका विभिन्न भागमा लिंगको घर्षण गराई पिसाबसमेत फेरिदिएको भन्ने आधारमा मात्र पीडित बालिकालाई जबरजस्ती करणी करणी गरेको स्थापित नहुने।
ख) पीडित बालिकाउपर यौन दुर्व्यवहार गर्दा बालिका रुँदै चिच्याउँदै कोठा बाहिर निस्की गएकिले जबरजस्ती करणी करणी गर्न नपाएको स्थितिमा जबरजस्ती करणी करणीको अपराधको उद्योगमा सजाय हुने।
ग) मुद्दाको अनुसन्धान तहकिकातको कारवाही जबरजस्ती करणी करणीको उद्योगतर्फ केन्द्रीत भई अप्राकृतिक मैथुनतर्फ अनुसन्धान तहकिकातको कारवाही भएको देखिएन। तसर्थ अप्राकृतिक मैथुनको वारदात स्थापित हुने कुनै सबुद प्रमाण संकलन भएको देखिन नआउँदा अप्राकृतिक मैथुनतर्फको कसूर स्थापित हुने अनुसन्धान तहकिकातको अभावमा सो कसूर कायम गरी सजाय गर्न नमिल्ने।
यस मुद्दामा जबरजस्ती करणीको ९क नं. को दावी लिइसकेपछि सो कानून अन्तर्गत भए गरेको अपराध स्वतः जबरजस्ती करणी घोषित हुनु पर्ने देखिन्छ, किनभने सर्वोच्च अदालतले जबरजस्ती करणीको उद्योगसम्म ठहर गरेको छ। तर कानूनको स्प्रीट अनुसार अप्राकृतिक रुपमा नाबालक उपर अप्राकृतिक तवरले यौन हिंसाको कार्य गरिसकेपछि जबरजस्ती करणीको महलको ९क को कानूनी प्रावधान अनुसार जबरजस्ती करणी नै हुन जान्छ। उक्त दफा अनुसार “कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नं. बमोजिम हुने सजायमा थप एक वर्ष सम्म कैद गरी क्षतिपूर्ति समेत भराइदिनु पर्ने” देखिन्छ। तर सर्वोच्च अदालतले यस मुद्दामा अप्राकृतिक मैथुन ठहर गर्न सकेन।
५. जाउलाखेल (ग) को जाहेरीले नेपाल सरकार प्रतिवादी E. FENWICKMACINTOSH भएको अप्राकृतिक मैथुन मुद्दाः क्यानेडियन नागरिक E. FENWICKMACINTOSH ले सेन्ट जेभियर्स सामाजिक सेवाकेन्द्रमा संरक्षण लिएका एकजना नाबालकलाई चिनजान गरी आफू बस्ने कोठामा लगी ललाई फकाई गरेर निज नाबालकको लिङ्ग चुस्ने, नाङ्गो तस्वीर खिच्ने र शरीरका विभिन्न भागहरुमा सुमसुम्याउने कार्य पटक पटक गरेकोले कारवाहीको लागि उजूरी परेको देखिन्छ। यस अघि पनि एकजना सडक बालकलाई यस्तै कार्य गरी यौन दुर्व्यवहार गरेको सम्बन्धित पीडितले व्यक्त गरेको पाइन्छ। अनुसन्धानबाट निज क्यानेडियन नागरिक अपराधी देखिएको भनी ललितपुर जिल्ला अदालतले मुलुकी ऐन जबरजस्ती करणीको महलको ९क र सोही ३, ३(३) नं. बमोजिम ७ वर्ष कैद र पीडितलाई पिडकबाट रू दश लाख क्षतिपूर्ति समेत भराउने फैसला गरेको पाइन्छ।[ 34 ]
यस मुद्दामा प्रमाणहरुबाट प्रतिवादी पेडोफिल देखिएपनि वैज्ञानिक परीक्षण गरी मानसिक विकृती भएका व्यक्ति हुन् होइनन् भन्ने परीक्षण गरिएको पाइदैन।
६. परिवर्तित ताल्छिखेल (क) को जाहेरीले वादी नेपाल सरकारविरुद्ध मोहमद ताज भएको अप्राकृति मैथुन मुद्दा: यस मुद्दामा मेरो ६ वर्षको नाबालक छोरालाई निज मोहमद ताजले बेडमा सुताई आची गर्ने ठाउँमा आफूले सु गर्ने (लिङ्ग) जबरजस्ती हाली पसाएको र निज रुँदा कराउँदा समेत नछाडेको भनी नाबालकले बताएपछि पाइन्ट खोली हेर्दा बच्चाको मलद्वारबाट रगत निस्की रहेको देखी तत्काल स्थानीय मेडिकल पसलमा गई उपचार गराएको हो। निजलाई कारवाही गरीपाऊँ भन्ने जाहेरी परेको देखिन्छ।[ 35 ] प्रतिवादी पनि नाबालक प्रमाणित भएको र निजले सो कानून विपरीतको कार्यलाई सहज रुपमा स्वीकार गरी न्यायिक प्रकृयामा सहयोगी भूमिका समेत खेलेको आधारमा निज नाबालकले मुलुकी ऐन जबरजस्ती करणीको महलको ९(क) र ३(१) को कसूर गरेको पुष्टि भएपनि बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार आधासजाय अर्थात ५ वर्ष ६ महिना कैद गर्नुपर्नेमाठहर भएकोकैद अवधिकारागार बाहिर रही वैकल्पिक एवं सुधारोन्मुख पद्दतीबाट बालसुधार गृहमा बसी भुक्तान गरिनु बाल न्याय तथा सामाजिक न्यायको दृष्टिकोणबाट समेत उपयुक्त देखी निजको उमेर नपुगेसम्म बालसुधारगृहमा नै रही सुधारको माध्यमबाट भुक्तानी गर्ने र उमेर पुरा भै सकेपछि निजको चरित्रमा सुधार भएको भनी सो संरक्षण दिने संस्थाले प्रमाणित गरेमा निजको अविभावकले जिम्मा लिई आफ्नो संरक्षणमा राखी सुधार गराउने गरी फैसला भएको छ।साथै पीडकको तर्फबाट क्षतिपूर्ति भराउने सक्ने आर्थिक हैसियत नदेखिएकोले पीडितलाई राज्यको तर्फबाट रू.१,००,०००।–(एक लाख) क्षतिपूर्ति भराईदिने ठहर गरिएको छ।
यस मुद्दामा प्रतिवादी पनि १५ वर्षको नाबालक देखिएको, निज पेडोफिल हुन् वा होइनन् भन्ने अनुसन्धान नभएको अवस्था छ। अध्ययनहरुबाट ५ देखि १६ वर्ष सम्मका नाबालकहरु वयस्क पेडोफिलहरुबाट पीडित हुने गरेको तथ्य पत्ता लागेपनि यो मुद्दामा १५ वर्षको नाबालकले नै पेडोफिलको रुपमा ६ वर्षको नाबालकलाई अप्राकृतिक मैथुन गरेको देखिँदा अध्येताहरुको लागि एउटा चुनौतिको रुपमा प्रश्न उठेको छ।
७. चाकुपाट (क) को जाहेरीले वादी नेपाल सरकार विरुद्ध चाकुपाट (ग) भएको हाडनाता तथा जबरजस्ती करणी मुद्दाः यस मुद्दामा आफ्नै बाबुले १४ वर्षको नाबालक छोरीलाई विगत ४ वर्ष देखि जबरजस्ती करणी तथा अप्राकृतिक मैथुन गरी यौन शोषण गर्दै आएकोमा कारवाही गरी पाऊँ भनी जाहेरी परेको छ। प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्ने, लिङ्ग चुसाउने, पीडितको योनी चाट्ने र विर्य समेत खुवाउने गर्दछन्। यस मुद्दामा ललितपुर जिल्ला अदालतले जबरजस्ती करणी तर्फ १० वर्ष र हाडनाता तर्फ १० वर्ष गरी २० वर्ष कैदको सजाय र पीडितलाई सरकारको तर्फबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति, निःशुल्क उच्च शिक्षा र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउन समेत ठहर गरेको छ।
यस मुद्दामा नेपाल सरकारको तर्फबाट पिडक पेडोफिल हो वा होइन भन्ने तर्फ कुनै अनुसन्धान भएको पाइदैन। त्यस्तै प्रमाणहरुबाट स्पष्ट रुपमा अप्राकृतिक मैथुन भएको कुरा खुल्न आउँदा पनि जबरजस्ती करणीको महलको ९क को मागदावी लिइएको पाइदैन।
६. हाम्रो न्यायिक अभ्यास र चुनौतीहरुः
हाम्रो वर्तमान फौजदारी कानूनमा पेडोफिल वा बालबालिका माथि हुने अप्राकृतिक मैथुनबाट हुने बाल यौनशोषणको सम्बन्धमा छुट्टै स्पष्ट र प्रभावकारी कानूनी प्रावधानको अभाव रहेको पाइन्छ तापनि नाबालक उपर अप्राकृतिक मैथुन गरेमा जबरजस्ती करणीको अपराध मानी सजाय समेत थप हुने कानूनी व्यवस्था रहेको छ।[ 36 ] अहिले सम्म यस्तो अपराधमा जबरजस्ती करणीको महल अन्तर्गत नै कारवाही चलाइने गरेको छ। तर सो महलमा अन्तरनिहित कानूनी व्यवस्थाहरु यस किसिमको अपराधलाई सम्बोधन गर्न सक्षम र पर्याप्त देखिँदैन। यसका अतिरिक्त अनुसन्धान पद्दती वैज्ञानिक आधारमा अघि बढेको पाइदैन। अभियोजन पक्षले गम्भीरताका साथ अप्राकृतिक मैथुनमा अभियोग दावी लिनुपर्ने अवस्थामा समेत सो लिएको पाइदैन। अदालतले पनि फैसला गर्दा पेडोफिल, अप्राकृतिक मैथुन र जबरजस्ती करणीको व्याख्या विवेचना कमै मुद्दाहरुमा मात्र गरेको देखिन्छ। यस्ता अपराधहरु प्रशस्त मात्रामा घटिरहेको भएपनि उजूरीको मात्रा अपराध घटेको आधारमा कमी नै रहेको पाइन्छ। अहिले देखिएका कानूनी तथा न्याय सम्पादन सम्बन्धी समस्याहरु निम्न बमोजिम छन्:
१. जबरजस्ती करणीको महलको १ नं. मा गरिएको परिभाषा अनुसार यस्तो अपराध महिला वा बालिका उपर मात्र हुनसक्ने देखिन्छ। पेडोफिलमा पुरुष पुरुष बीच पनि जबरजस्ती करणी हुनसक्ने अवस्था रहन्छ।
२. उक्त महलको २ नं. मा गरिएको परिभाषा अनुसार हाडनाताकी स्वास्नी मानिसको मात्र जबरजस्ती करणी हुनसक्ने हुन्छ। हाडनाताको पुरुष पुरुष बीच भएको अप्राकृतिक यौन सम्बन्धलाई यसले समेट्दैन।
३. उक्त ३ क नं. मा गरिएको परिभाषा अनुसार सामुहिक रुपमा महिलालाई जबरजस्ती करणी गरेमा थप सजाय हुने कानूनी व्यवस्था छ तर पुरुषले सामुहिक रुपमा पुरुषलाई नै अप्राकृतिक मैथुन गरेमा थप सजायको व्यवस्था सो नं. मा उल्लेख छैन।
४. पेडोफिलियालाई करणीसँग जोडेर हेर्ने भएकोले यसको हदम्याद पनि ३५ दिन नै रहेको छ। तसर्थ पूर्ण अनुसन्धान गरी अभियोजन तयार गर्न समस्या आउने गरेको छ।पिडकहरुले निकै शतर्क ढङ्गले आफ्नो आपराधिक कार्य गर्ने हुँदा अनुसन्धान गर्न लामो समय लाग्ने भएकोले ३५ दिनको हदम्याद कम हुने गरेको छ।
५. नाबालकहरु यस कार्यको पीडित हुने भएकोले उनीहरुलाई सो कार्य अपराध हो भन्ने जानकारी नहुनु र नाबालकहरु आफ्नो हकमा आवाज उठाउन नसक्ने भएको हुँदा पेडोफिलियाको मुद्दा प्रकाशमा नआउने समस्या रहेको छ।
६. पेडोफिलियाको दशी प्रमाण नहुने हुँदा पीडितले पिडकलाई अदालतमा प्रमाणित गर्न समस्या हुने गरेको छ। नेपालको हकमा यदि पेडोफिलियाको पिडक विदेशी भएमा सम्बन्धित निकाय (Law enforcement officer) ले यस्ता मुद्दाको प्रकृया झन्झटिलो हुने भएकोले जाहेरी दर्ता गर्न र अनुसन्धान अघि बढाउन नमान्ने, हिचकिचाउने गरेको पाइन्छ।
७. पेडोफिलियाको विकृत मानसिकता भएको व्यक्तिहरुको मानसिक अवस्था जाँच गर्ने आधुनिक वैज्ञानिक प्रयोगशाला नेपालमा उपलब्ध छैन। यस अभावबाट पिडक साच्चिकै पेडोफिल हो वा अन्य मानिस जस्तै जबरजस्ती करणी गर्ने मनसाय भएको व्यक्ति हो भन्ने छुट्याउन मुस्किल पर्दछ।
८. करणी सम्बन्धी अपराध गम्भीर प्रकृतिको हुने भएकोले यसको अनुसन्धान र तहकिकात पनि वैज्ञानिक, भौतिक प्रमाणमा आधारित र गम्भीरताका साथ गरिनु पर्नेमा त्यस्तो हुन सकेको छैन।
९. अभियोजनकर्ताले पनि विद्यमान कानूनमा भएका कसूर र सजायसम्बन्धी प्रावधानहरुको विश्लेषण गरी उपयुक्त अभियोग मागदावी गर्नुपर्नेमा कुनैमा अप्राकृतिक मैथुन तर्फको दावी छुटाउने र कुनैमा क्षतिपूर्तिको मागदावी गर्न विर्सने तथा कुनैमा कसूर र कानून अनुसारको दावी नै नलिने प्रवृत्ति पनि रहेको पाइन्छ।
१०. अदालतले पनि फैसला गर्दा विद्यमान कानून, कसूर र सजायको संतुलन मिलाई निर्णय गर्नुपर्नेमा कहिलेकाहीँ चिप्लिएको र व्याख्याहरुमा एकरुपता नभएको पाइन्छ।
११. पीडितलाई प्रदान गरिने क्षतिपूर्तिको सन्दर्भमा सर्वोच्च अदालतले अझै पनि अहिलेको युग सुहाउँदो रकम निर्धारण गर्न सकेको पाइदैन।
७. सुझाव तथा निश्कर्ष
१. पुरुष पुरुषको बीचमा गरिने अप्राकृतिक मैथुनलाई पनि कानूनमा प्रष्ट रुपमा परिभाषित गरिनु पर्दछ।
२. अप्राकृतिक मैथुन हाडनाता भित्र समेत हुनसक्ने भएकोले कानूनमा उल्लेख गरिनु पर्दछ।
३. पुरुषले पुरुषलाई सामुहिक रुपमा अप्राकृतिक मैथुन गरेमा अपराधको गम्भीरता अनुसार सामुहिकरुपमा महिला उपर गरिने अप्राकृतिक मैथुनमा जस्तै सजायको व्यवस्था हुनु पर्दछ।
४. हदम्यादको हकमा यो सम्वेदनशील प्रकारको मुद्दा भएको हुनाले उजुरी गर्ने हदम्याद बढाउनु पर्दछ।
५. पीडितले छिटो, छरितो र वास्तविक रुपमा न्याय प्राप्त गर्नको लागि करणी सम्बन्धी छुट्टै र स्पष्ट एवं कडा कानूनको व्यवस्था गर्नुपर्छ।
६. वैज्ञानिक पद्दतीबाट अपराध अनुसन्धान प्रकृया व्यवस्थित गरिनु पर्दछ।
७. स्कूल तथा कलेजहरुमा यस विषयको सामान्य जानकारीमूलक पाठ्यक्रम समावेश गरिनु पर्दछ।
८.बालबालिकाहरुको सेवा र संरक्षणको लागि काम गर्ने संघसंस्थाहरुमा यस्तो अपराधबाट बालबालिका पीडित हुन सक्ने देखिएकोले यस्तो विषयमा निरन्तर अनुगमन, निरीक्षण र मूल्याङ्कनको पद्दती अपनाइनु पर्दछ।
९. अनुसन्धानको क्रममा अभियोजित व्यक्ति पेडोफिल हो या होइन भन्ने वैज्ञानिक परीक्षण गरिनु पर्दछ।
१०. यस्ता मुद्दामा अपराध अनुसन्धान र अभियोजनका क्रममा भौतिक प्रमाणहरुको संकलन, संरक्षण र विश्लेषण हुनु आवश्यक छ।
११. अदालतले निर्णय गर्दा बन्द इजलास, गोपनीयता, निरन्तर सुनुवाई, साक्षीको संरक्षण र पीडितलाई पुनःस्थापना तथा क्षतिपूर्ति प्रदान गर्न सवालमा उदारता देखाउनु आवश्यक छ। साथै यस्ता मुद्दाहरुमा अदालतको अझै गम्भीरता आवश्यक छ।
- Sexual Offences Act 1956, S. 44 ↩︎
- Simpson’s Forensic Medicine, 11ed, 1996 ↩︎
- मुलुकी ऐन जबरजस्ती करणीको १ नं. र १ग नं. समेत । ↩︎
- Penetration is sufficient, but emission is not necessary. Modi’s Jurisprudence, 19th Edn. P., 343. ↩︎
- Sodomy:Anal or oral intercourse between human beings, or any sexual relations between a human being and an animal, the act of which may be punishable as a criminal offense.Homosexuality: sexual desire or behavior directed toward a person or persons of one’s own sex ↩︎
- The term tribadismis usually used in the contest of lesbian sex, and originally encompassed societal beliefs about women’s capability of being penetrative sexual partners. Two woman engaged in the missionary position of tribadism and rubbing vulvas, one of the various positions in which a woman rubs her vulva against her partner’s body for the purpose of sexual pleasure. Lesbanism: woman sexually attracted to another woman ↩︎
- coitus in os , Latin for mouth coitus, mouth contact with the male genitals, fellatio. ↩︎
- Masturbation is the sexual stimulation of one’s own genitals for sexual arousal or other sexual pleasure, usually to the point of orgasm. ↩︎
- Martin J, Anderson J, Romans S, Mullen P, O’Shea M (1993).”Asking about child sexual abuse: methodological implications of a two stage survey”.Child Abuse & Neglect17 (3): 383–92 ↩︎
- http://www.unicef.org/chinese/protection/files/Child_Marriage.pdf ↩︎
- Schetky. DH: The sexual abuse of infants and toddlers, in Review of Psychiatry (vol 10). Edited by Tasman A, Goldfinged SM. Washington, DC: APA 308-18, 1991 ↩︎
- Bonnie S. Fisher, Steven P. Lab,Encyclopedia of Victimology and Crime Prevention, SAGE Publications, Inc 2010 ↩︎
- Diagnostic and Statistical Manual of Mental Disorders, Fifth Edition, Edited by American Psychiatric Association http://dx.doi.org/10.1176/ appi.books. ↩︎
- In its narrow sense, “pedophilia” refers to sexual attraction of adults to prepubescent and pubescent children and sexual contract with them. ↩︎
- R. v. Byers, 2011 ONSC 4159 (CanLII), <http://canlii.ca/t/fm6bk> (Reterived on 4 March 2015) ↩︎
- Dorland, I., dorland’s illustrated I Medical Dictionary, 28th Edition (Philadelphia: W.B. Saunders C.O., 1994), page 1248. ↩︎
- Jason, Jennifer, Beyond No-Man’s Land: Psychiarty’s Imprecision Revealed by Its Critique of SVP Statutes as Applied to Pediphilia, 83 s. csl. L. Rev. 1319 )2009-2010) ↩︎
- Patterson, Richard, Lawyers’ Medical Cyclopedia, 4th Ed, Volume 3(Charlotteville, Virginia: Michie Law Publshers, 1996), page 31-32 ↩︎
- Psychopathia Sexualis was one of the first books about sexual practices that studied homosexuality/bisexuality. It proposed consideration of the mental state of sex criminals in legal judgements of their crimes. During its time, it became the leading medico–legal textual authority on sexual pathology. ↩︎
- Diagnostic and Statistical Manual of Mental Disorders, ↩︎
- Article 22(f), Sexual offences Act, 1957 ↩︎
- Article150, Criminal Code (R.S.C., 1985, c. C-46) ↩︎
- Article151, Criminal Code (R.S.C., 1985, c. C-46) ↩︎
- https://www.law.cornell.edu/uscode/text/18/2251 ↩︎
- Source : स्रोतः A/R 1925 ↩︎
- The six day trial wrapped up on July 9, 2010. Justice MacDonald rendered his verdict on July 27, 2010. He found Mr. MacIntosh guilty on 13 counts and not guilty on 13 counts. See,http://novascotia.ca/pps/publications/Report-to-Attorney-General-re-Ernest-Fenwick-MacIntosh-Prosecution.pdf (Reterived on 6 March 2015) ↩︎
- On January 31, 2011 Chief Justice Kennedy foundMr.MacIntosh guilty on four counts and not guiltyon six counts. In April Mr. MacIntosh was sentencedto 18 months in prison, was given a DNA order anda lifetime weapons ban. ↩︎
- नेपाल सरकार विरुद्ध E. FENWICKMACINTOSH मुद्दा: अप्राकृतिक मैथुन (०७१-CR-०१०२) ललितपुर जिल्ला अदालत फैसला मिति २०७१।११।१७ । ↩︎
- http://www.fearnotlaw.com/wsnkb/articles/pvprez-59390.html# (Reterive on 8 March 2015) ↩︎
- ने.का.प. २०६९, कात्तिक, नि.नं. ८८६०, पृष्ठ १०९६ ↩︎
- सर्वोच्च अदालतबाट प्रतिपादित फौजदारी कानूनसम्बन्धी केही महत्वपूर्ण नजीर, भाग ५, पृष्ठ संख्या ८६ ↩︎
- ने.का.प. २०६६, अंक ५, पृष्ठ ७८४, नि.नं. ८१४८ ↩︎
- नेकाप २०६५ भाग ५० अंक ६ पृ ७८५ (नि.नं. ७९८३), फौजदारी कानून दोस्रो भाग २०६६ भाग ६ पृष्ठ ३३५ ↩︎
- नेपाल सरकार विरुद्ध E. FENWICKMACINTOSH मुद्दा: अप्राकृतिक मैथुन (०७१-CR-०१०२) ललितपुर जिल्ला अदालत, फैसला मिति २०७१।११।१७ । ↩︎
- नेपाल सरकार विरुद्ध मोहमद ताज मुद्दा: अप्राकृतिक मैथुन (०७०-CR-०१९१) ललितपुर जिल्ला अदालत, फैसला मिति २०७१।८।२२ ↩︎
- मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. ↩︎